काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले कृषि क्षेत्रमा प्राविधिक जनशक्ति बढाउन सरकारलाई सुझाव दिएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् ।
सांसद राणाले कृषकलाई राहत दिन छुट्टै बैंकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सुझाव दिइन् । उखु, दूध कृषकले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उनले उल्लेख गरिन् । समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले त्यसखालको बैंकिङ प्रणालीको विकास गर्न आवश्यक रहेको उनले औँल्याइन् ।
उनले भनिन्, “हरेक वर्ष यो दूध कृषकहरू र उखु कृषकहरूको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ । यसका लागिचाहिँ सरकारले इर्मेजेन्सीको रूपमा लास्ट टाइममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिजम खडा गर्न म अर्थमन्त्रीज्यूलाई रिक्वेस्ट गर्न चाहन्छु ।”
उनले अगाडि भनिन्, “मेरो भनाइ के हो भने बैंकमा सहुलियतदरमा यो डेरीहरू र मिलहरूले एउटा रकम राख्ने र पेमेन्ट भौचरको आधारमा तुरुन्तै कृषकले आफ्नो रकम लिन पाउने त्यो एउटा व्यवस्था मिलाउन सकियो भने गभर्मेन्टलाई पनि राहत हुन्थ्यो । र, कृषकहरूलाई पनि राहत हुन्थ्यो ।”