spot_img

कृषिमा अगाडी बढ्दै बिहादी, दुध र तरकारीमा आत्मनिर्भर

पर्वत–बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषिक्षेत्रमा राम्रो प्रतिफल दिनेगरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई ब्यावसायिक र उत्पादनमुलक बनाउन कस्सिएको बिहादी गाउँपालिका उत्पादन र प्रतिफलमा अगाडी देखिन थालेको छ । किसानलाई मागको आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकरणका कारण उत्पादन बढ्न थालेको हो । बिहादी गाउँपालिकाबाट अहिले दुध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ ।
बिहादी गाउँपालिकाले अहिले दुधमा प्रतिलिटर पाँच रुपैयाँ धुँवानी अनुदान किसानलाई दिने गरेको छ । यसले भैसीपालक किसान उत्साहित भएर दुध उत्पादन बढाउदै लगेका छन् । बिहादीमा उत्पादन भएको दुध कुश्माबजारसम्म पुग्ने गरेको छ । बिहादी गाउँपालिकाका कृषि प्राविधिक जिवन शाहीले पछिल्ला दिनमा पालिकाको लगानी, आवश्यक यान्त्रिकरणमा सहयोग, आवश्यक तालिमले किसानमा उत्साह थपेको आफुले पाएको बताए ।
उनकाअनुसार जिल्ला ज्ञान केन्द्रलगायत निकायले बिहादी गाउँपालिकालाई कृषि क्षेत्रमा भएको परिवर्तन र उपलब्धि उत्कृष्ट रहेको बताएको छ । चालु आर्थिक बर्षमा बिहादी गाउँपालिकाले ९४ वटा हाइटेकटनेल, ८० वटा भकारो सुधार, झण्डै चार दर्जन कुटानीपिसानी मेसिन बितरण गर्दैछ । पालिकाले झण्डै छ हजार केजी गहुँको बिउँ बितरण गरिसकेको छ । यसबर्ष १६० वटा मौरीका घर बितरणको तयारी पनि भएको छ । मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले बितरण गर्ने तयारी गरेको हो ।
त्यसैगरी चालु आर्थिक बर्षमै कागती, सुन्तला, लिची, आपलगायतका फलफुलका बिरुवा बितरण गर्ने तयारी छ । बिहादी गाउँपालिकामा सबैभन्दा बढी रैथानेबालीअन्र्तगत कोदो उत्पादन हुने गरेको छ । ‘बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ’ कृषि प्राविधिक शाहीले भने–‘पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ ।’ किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ ।
बिहादी गाउँपालिकाले आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पु¥याउन मद्दत गर्ने भएको छ । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ । ‘अव केही समयमै कृषि एम्बुलेन्स आउदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट ब्यहोनुपर्दैन’ शाहीले भने ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिनेगरी लागेको बताए । उनले बिहादीलाई कृषि क्षेत्रमा आत्मनिर्भर गराउनेगरी योजनाबद्ध अगाडी बढेको जानकारी दिए । ‘के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौ’ अध्यक्ष गुरुङले भने–‘दुध र तरकारीमा भएपनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ ।’
किसानले उत्पादन गरेको बस्तु बजार पु¥याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको अध्यक्ष गुरुङले बताए । ‘अव कृषिजन्यबस्तु उत्पादन भएको बजार पु¥याउन सकिएन भन्ने अवस्था रहँदैन’ उनले भने–‘अहिले पनि बिहादी गाउँपालिकाले दुधमा प्रतिलिटर पाँच रुपैयाँ धुँवानी अनुदान दिएका छौ ।’ बिहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसालले सिमित स्रोतसाधनका बिच पनि पालिकाले कृषि क्षेत्रमा महत्व दिएर काम गरेको जानकारी दिए ।

spot_img

भर्खरै