पर्वत/बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले छिट्टै स्थानीय बन ऐन ल्याउन लागिएको बताएका छन् । गाउँपालिकाको सहयोगमा शुभ सन्देश मिडिया प्रा.लि.ले सञ्चालन गरेको दुई दिने बन, बाताबरण र जलबायू परिवर्तनसम्बन्धि तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले पालिकाभित्रका बनहरुलाई ब्यवस्थित गर्न ऐन ल्याउन लागिएको जानकारी दिए ।
अध्यक्ष गुरुङले गाउँपालिकाले वन ऐन छिट्टै ल्याउन लागेको भन्दै यसको विषयमा थप सल्लाह सुझाब वन समूहहरुले दिनुपर्ने बताए । उनले सवै पक्षको सुझाबका आधारमा तत्काल पालिकाले स्थानीय वन ऐन जारी गर्ने जानकारी दिए । त्यस्तै अध्यक्ष गुरुङले सामुदायिक बन समुहहरु लामो समयदेखि निष्क्रिय रहने गरेको, त्यहाँभित्रको आर्थिक अवस्था पारदर्शी हुन नसकेको गुनासाहरु आउने गरेकोले त्यसलाई पारदर्शी गराउन पनि आग्रह गरे । गाउँपालिका भित्र रहेका २० वटा सामुदायिक वन समूहहरुले आर्थिक हिसाव अध्यावधिक नगरेको र कतिपय सामुदायिक वनहरुको बार्षिक साधारण सभा तथा अधिवेशन समेत समयमा नभएको तर्फ अध्यक्ष गुरुङले ध्यानाकर्षण गराएका हुन ।
लामो समयसम्म एउटै ब्यक्तिले नेतृत्व गरेका सामुदायिक वनमा नेतृत्व हस्तान्तरण नभएको भन्दै अध्यक्ष गुरुङले सवै सामुदायिक वनले निर्धारीत समयमा तत्काल साधारणसभा गर्नुपर्ने बताए । उनले पछिल्लो बर्ष डढेलोको प्रकोप बढ्दै गइरहेको भन्दै यसको निवारणका लागि समूहहरुले बेग्लै कार्ययोजना बनाउन आग्रह गरे ।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम कार्यक्रमको समापन शत्रमा सव डिभिजन वन कार्यालय पैयूका प्रमुख हिमलाल न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ विहादी गाउँपालिकाका अध्यक्ष अनिल मास्के, किसान महासंघका उप महासचिव ऋषीराम भुषाल, तालिमका सहभागी मिठुकुमारी श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । शुभ सन्देश मिडिया प्रालिका कार्यकारी निर्देशक छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रम जिएण्डजी मिडियाका प्रबन्ध निर्देशक गणेश गिरीले गरेका थिए ।
तालिममा बिहादी गाउँपालिकाभित्रका २० वटा सामुदायिक बन उपभोक्ता समुहका ३० जनाको सहभागिता रहेको थियो । तालिमपछि बन समुहहरुले छिट्टै समुह नविकरण गर्ने, पान नम्वर लिने, खाता खोल्ने, बनलाई ब्यवस्थित गर्ने, गतिशिल र क्रियाशिल गराउने प्रतिबद्धता जनाएका छन् ।
बिहादी गाउँपालिकाले छिट्टै वन ऐन ल्याउँछ : अध्यक्ष गुरुङ


