नवलपरासी (पश्चिम),–नवरपरासी (पश्चिम) जिल्लाको सुनवलबाट एक युवक पाँच दिनदेखि बेपत्ता भएका छन् । सुनवल नगरपालिका वडा नम्बर १२ भुमही घरबाट नजिकैको बैंकमा जान्छु भनेर हिँडेका २७ बर्षिय यादव डुम्रे हालसम्म सम्पर्कमा नआएका हुन । के कारणले र कहाँ गए भन्ने जानकारी नहुँदा परिवारजन चिन्तित भएका छन् । यादव बैंकमा काम सिक्नका लागि जान्छु भनेर हिँडेको र साँझ साँढे ५ बजे घरमा नआएपछि मात्रै खोजी सुरु गरिएको यादवका भाई महेश डुम्रेले जानकारी दिए ।
‘अन्यत्र कहिल्यै नभुल्ने दाई साँझ साढे ५ बजेसम्म घरमा नआएपछि मात्रै खोजी ग¥यौ, आज पाँच दिन भयो पत्ता लगाउन सकेका छैनौ’ महेशले भने । उनकाअनुसार जिल्लाका विभिन्न ठाउँ र भारतीय सीमा नाकासम्म पनि खोजबिन गरेपनि भेट्न नसकिएको बताए । भाई महेशका अनुसार बुधबार घरबाट हिँड्दा यादवले रातो टिसर्ट, सेतो पाइन्ट र चप्पल लगाएर निस्किएका थिए । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरी प्रशासनबाट हराएका युवक यादव डुम्रेको खोजी कार्यलाई तिब्र पारिएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख बिनोद सिलवालले जिल्लाका सबै प्रहरी कार्यालयलाई युवकको खोजीलाई तिब्रता दिन निर्देशन दिएको जानकारी दिए । ‘कल डिटेलमार्फत सुचना पाउने अपेक्षा भएपनि जेठ ८ गते यता फोन उठाएको देखिएन’ सिलवालले भने । उनले प्रहरीको तर्फबाट हराएका यादवको खोजीलाई कुनै कसर बाँकी नराखिएको पनि बताए । पाँच दिनसम्म पनि कुनै सुचना नपाएपछि परिवारजन आत्तिएका छन् । समाचारमा उल्लेख गरिएको हुलिया देख्नासाथ परिवारजन र नजिकको प्रहरी कार्यालयमा खबर गरेर सहयोग गर्न पनि परिवारले याचना गरेका छन् । रातो टिसर्ट, सेतो पाइन्ट र चप्पल लगाएको फोटोमा देखिएको हुँलिया देख्नासाथ ९८२४४७१७३३, ९७४५४३९३९३, ९८५७६२१६६७, ९८५७०६५५५५ मा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।