spot_img

सबै वडामा स्वास्थ्य शिविर पुर्याउने पैयूँ गाउँपालिका अध्यक्ष मल्लको घोषणा

पर्वत/पैयूँ गाउँपालिकामा महिलाहरुको स्वास्थ्य समस्यालाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । पैयूँ गाउँपालिकाको समन्वय, हुवास स्वास्थ्य चौकीको ब्यवस्थापनमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले शिविर आयोजना गरेको हो । शिविरमा एक सय एक जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । हुवास स्वास्थ्य चौकीका प्रमुख देवी भुर्तेलका अनुसार शिविरमा अन्ष्टेट्रिक फिस्टुला र पाठेर खस्ने समस्याको स्क्रिनिङ्ग,पाठेघरको मुखको क्यान्सरको जाँच लगायत स्त्री रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरको समापनका अवसरमा पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले पैयूँ गाउँपालिकालाई प्राथमिकता दिएर स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यबाद दिएका दिनुभएको हो । उहाँले आगामी दिनमा पनि पैयूँ गाउँपालिकासँग समन्वय गरेर जनतालाई प्रत्यक्ष लाभ मिल्ने खालका शिवर सञ्चालन गर्न र जनतालाई लाभान्वित हुने खालको स्वास्थ्यक्षेत्रको गतिविधिमा पैयूँ गाउँपालिका हातेमालो गर्न तयार रहेको पनि बताउनुभएको थियो । अध्यक्ष मल्लले आगामी दिनमा पैयूँका सात वटै वडामा स्वास्थ्य शिविर आयोजना गर्ने पनि जानकारी दिनुभएको थियो । कतिपय जनताहरु रोग लाग्दा लाग्दैपनि आर्थिक अभावले उपचार नगरी घरमै बस्नुपर्ने बाध्यता औल्याउदै मल्लले त्यस्तो हुन नदिनका लागि पनि पैयूँका वडा–वडामा स्वास्थ्य शिविर आयोजना गर्ने स्पष्ट पार्नुभएको थियो ।
पैयूँ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टुकलाल न्यौपानेले धेरै महिलाहरुले आफ्नो रोग लुकाएरै बस्ने गरेका कारण पनि समस्या देखिने भएकोले सचेतनासँगै गाउँगाउँमा शिविर महत्वपूर्ण भएको बताउनुभयो । जिल्ला अस्पताल पर्वतका डा.डिबी क्षेत्रीले पैयूँमा सुविधासम्पन्न अस्पताल नहुँदा र जिल्ला अस्पताल टाढा हुँदा बाहिरी जिल्लामा धाउनुपर्ने अवस्था रहेकोले त्यसक्षेत्रलाई समेट्नेगरी सुविधासम्पन्न अस्पतालको खाँचो रहेको बताउनुभयो । अस्पताल अभावकै कारण पनि समय–समयमा यस्ता प्रकारका शिविर राखिरहनुपर्ने पनि उहाँको धारणा रहेको थियो । अहिले पैयूँ, बिहादी महाशिलाका बासिन्दाहरु त्यसक्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएकै कारण राम्रो उपचारका लागि पोखरा, स्याङ्जा, पाल्पा लगायतका ठाउँमा जानैपर्ने बाध्यता रहेको छ । शिविर समापन कार्यक्रममा पैयूँ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने, वडा नम्बर ५ का वडा अध्यक्ष नारायण भुर्तेललगायतको उपस्थिति रहेको थियो ।

spot_img

भर्खरै