पर्वत/विहादी गाउँपालिकाले आगामी आर्थिक बष ०७९/०८० का लागि नीति, कार्यक्रम र बजेट सर्बसम्मत रुपमा पारित गरेको छ । छ वटा वडा रहेको बिहादी गाउँपालिकामा आकर्षक कार्यक्रमसहित कुल ४३ करोड बराबरको बजेट गाउँसभाले पारित गरेको हो । शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा अध्यक्ष गुरुङले साना अत्यावश्यक काममा गाउँपालिकाले ध्यान दिने र ठुला आयोजना तथा पूर्वाधारको क्षेत्रको विकासका लागि संघीय सरकार र प्रदेश सरकारमा निरन्तर रुपमा पहल गर्ने जानकारी दिनुभयो । उहाँले कृषि र पशुपालनको क्षेत्रमा राहतमुखी कार्यक्रमको पनि घोषणा गर्नुभएको थियो । ग्रामीण वस्ती धेरै भएका कारण विहादी गाउँपालिकामा पशु र कृषि क्षेत्रमा सहयोगमुखी कार्यक्रमबाट नै ग्रामीण जनताको आय आर्जनमा अभिबृद्धि गर्न सकिन्छ भन्ने ध्येयका साथ अध्यक्ष गुरुङले कृषि एम्बुलेन्स सञ्चालन गर्ने, उत्पादन र ब्यवसायमा राहत र सहयोगको नीति लिने जानकारी दिनुभएको थियो ।
गाउँसभामा उपाध्यक्ष मिना तिवारीले बार्षिक बजेट पेश गर्नुभएको थियो । अध्यक्ष गुरुङले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष तिवारीले पेश गरेको बार्षिक बजेट सर्बसम्मत रुपमा पारित भएको छ । बिहादी गाउँपालिकाको आगामी बर्षको बजेट ४३ करोड ४० लाख १३ हजार रुपैयाँ बराबरको भएको प्रमुख प्रशासकिय अधिकृत धु्रव दयालले जानकारी दिनुभयो ।
आकर्षक कार्यक्रमसहित आयो बिहादी गाउँपालिकाको बजेट


