पर्वत/बुधबार कुश्मा नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन हुँदैथियो । कतै काँग्रेसले चार सदस्य चोरेर पालिका सदस्यलाई बिजयी गराउने हो की भन्नेमा एमाले नेताहरु सशंकित थिए । त्यसैले एमालेमा भएको त्रासका कारण उसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना उम्मेदवारको नामावली दर्तापछि गाडीमा राखेर गुप्तबासमा लग्यो । मोबाइल एक्लाएक्लै चलाउन नसक्ने बनायो । पार्टीका बिषयमा ब्यापक प्रशिक्षण दियो । अन्ततः आफ्ना मत सुरक्षित त ग¥यो नै काँग्रेसका नगर सभा सदस्य चोर्न समेत एमाले सफल भयो ।
हो कुश्मा नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेले काँग्रेसको एक मत आफ्नो पक्षमा पार्न सफल भएको छ । नगरसभामा बैशाख ३० गतेको निर्वाचनबाट प्रमुख, उपप्रमुख गरी १४ वडामा ७२ जना नगरसभा सदस्य निर्वाचित भएका थिए । जसमा कांग्रेसका प्रमुखसहित ३३ जना, एमालेका ३८ जना र एक जना नेकपा एकीकृत समाजबादीका निर्वाचित भएका थिए । तर, कार्यपालिका सदस्यको निर्वाचनमा भने नेपाली काँग्रेसका उम्मेदवारले ३० मत मात्रै प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारले ३९ मत प्राप्त गरे । काँग्रेसमा एक मत खाली, एक मत बदर र एक मत एमाले उम्मेदवारको पक्षमा खसेको देखियो । यो निर्वाचनसंगै सबै आठ जना नै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।
०७४ सालको निर्वाचनमा नेकपा एमाले नौ वटा वडा अध्यक्षसहित नगरसभामा ३७ सदस्य निर्वाचित भएका थिए । नेपाली काँग्रेसको प्रमुख, उपप्रमुखसहित ३५ मत थियो । त्यतिबेला नेकपा एमालेले कतै आफ्ना नगरसभा सदस्य बिक्री हुने डरले गुप्तबासमा राखेर कार्यपालिकामा आठै जना सदस्य जिताएको थियो । यसपटक आफ्ना चार जना सदस्य बढी हुँदाहुँदै पनि गडबढ हुने डरले गुप्तबास लगेर मत हाल्ने अन्तिम समयमा लाइनमा निगरानीमा राखेर मत खसाल्ने बाताबरण बनायो ।
नेपाली काँग्रेसले उम्मेदवार छनौट गरेपनि भरपुर प्रयास गरेन । अर्काे दलका मतदाता तान्ने त परैको कुरा आफ्नै मतदाताको मत समेत सुरक्षित राख्न सकेन । काँग्रेसले नगरसभाका सदस्यलाई न प्रशिक्षण ग¥यो न कुन अवस्थामा छन भन्ने खोजी समेत गरेन जसका कारण नेपाली काँग्रेसले नगरसभामा आफ्ना मतसमेत सुरक्षित राख्न नसकेको चर्चा सुरु भएको छ ।



