पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको नेतृत्वमा बिद्यालयहरुको अवलोकन गरिएको छ । भौतिक पूर्वाधारको अवस्था, शैक्षिक अवस्था र समग्र ब्यवस्थापनको बिषयमा जानकारी लिने उद्देश्यले जलजला गाउँपालिका वडा नम्बर ८ र ९ का बिद्यालयहरुको अवलोकन गरिएको हो । शैक्षिक अवस्थाको सुधार गर्न, भौतिक अवस्था हेरेर आगामी आर्थिक बर्षमा के के बिषयमा बजेटमा प्राथमिकता दिन सकिन्छ भनेर ती बिद्यालयहरुको अवलोकन गरिएको हो ।
‘आगामी दिनमा के के बिषयमा बजेटमा प्राथमिकता दिदा शैक्षिक गुणस्तर बढ्छ, त्यहाँको भौतिक पूर्वाधारले सुविधासम्पन्न हुन्छ भन्ने बुझ्नका लागि बिद्यालयहरुको अनुगमन गरिएको हो’ जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भने । आचार्य नेतृत्वको टोलीले वडा नम्बर ८ नाग्लीवाङको शिव मावि, जनकल्याण मावि, अनोथादोय आवि, तारा आवि, वडा नम्बर ९ बनौस्थित बनौ माविलगायतका बिद्यालयको अनुगमन गरेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
अनुगमन टोलीमा अध्यक्ष आचार्य, प्रमुख प्रशासकिय अधिकृत क्षेत्री, वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसी, वडा नम्बर ९ का वडा अध्यक्ष गौबहादुर पुनलगायतको सहभागिता रहेको थियो । विद्यालय वडा कार्यालय लगायत सेवा केन्द्रहरुको वस्तुगत विवरणको अध्ययनवाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न तथा वडा कार्यालय स्वास्थ्य चौकी लगायत सेवा केन्द्रहरुवाट प्रवाह हुने सेवा चुस्त दुरुस्त र गुणस्तरिय प्रभावकारी वनाउन आगामी दिनमा चाल्नुपर्ने पहलकदमीको विषयमा समेत त्यहाँका सरोकारवालाहरुसँग छलफल गरिने जलजला गाउँपालिकाले जनाएको छ ।

जलजलाको अध्यक्ष आचार्यको नेतृत्वमा बिद्यालयको भौतिक पूर्वाधार र शैक्षिक अवस्थाको अवलोकन


