spot_img

गाउँपालिकामा समस्या ल्याउनेलाई रित्तै फर्काउदैनौ : पैयूँ अध्यक्षका उम्मेदवार राज मल्ल

पर्वत/नेपाली काँग्रेस मजबुत मानिने पैयूँ गाउँपालिकामा यतिबेला चुनावी अभियान तिब्र बनेको छ । उम्मेदवारहरु आ–आफ्ना एजेण्डा र कार्यक्रम लिएर मतदाताको घरघरमा पुग्नेक्रम जारी छ । नेपाली काँग्रेसले पैयूँ गाउँपालिकाको अध्यक्ष पदमा जोश जागरले भरिएका तरुण युवा तोरण मल्ल ठकुरी (राज)लाई उम्मेदवार बनाएको छ । समृद्ध पैयूका निमित्त राम्रा एजेण्डा अगाडी सारेका मल्लले आफ्नो जीत भएमा पैयूँ गाउँपालिकामा समस्या लिएर वा सेवा लिन आउने सेवाग्राहीलाई रित्तै नफर्काउने प्रतिबद्धता जनाएका छन् ।
‘गाउँपालिकामा मेरो जित भयो भने म कसैलाई पनि रित्तो पठाउने छैन, लिएर आएका समस्या समाधान गरेर मात्रै पठाउनेछु’ नेपाल तरुण दल पर्वतका अध्यक्ष समेत मल्लले भने । पैयूंको मुहार फेर्ने योजना र कार्यक्रम आफुसंग रहेको भन्दै मल्लले एक पटक आफ्ना योजना र कार्यक्रम लागु गर्ने मौका दिन पैयूँबासीलाई अपिल गरेका छन् । पैयूँ सदरमुकामबाट टाढा र विगतमा सडक सञ्जालले समेत नजोडिएका कारण कालापानीका रुपमा लिइन्थ्यो । सदरमुकामको पहुँचबाट टाढा रहेको पैयूँ विकासका हिसाबले पनि पछि पर्दै आएको छ । त्यहाँका अधिकांश युवाहरु रोजगारीका लागि बाहिरिएको परिवेशमा अध्यक्ष पदका उम्मेदवार मल्लले गाउँमै स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्ने र विशेषगरी उद्यमशिल गाउँपालिका बनाउने बताएका छन् ।
‘मेरो पहिलो लक्ष्य नै गाउँमै स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्ने हो, उद्यमशिल र देशकै नमुना गाउँपालिका बनाउने अठोट मैले लिएको छु’ मल्लले भने । नेपाल तरुण दल पर्वतका अध्यक्ष र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका मल्लले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई पैयूँबासीले विश्वास गरी मत दिने र आफूले सो मतको कदर गरी विकास र समृद्धिका कार्यमा क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् । ‘गाउँको समस्याहरु पहिचान गरी सम्बोधन गर्न, हरेक व्यक्तिलाई आत्मसम्मान, उद्यमशीलता, उत्पादन र सन्तुष्ट जीवनशैली दिन सधैँ क्रियाशील रहन्छु’ उनले भने–‘गाउँको विकास गर्न झुटा आश्वासन र सपनामा होइन यथार्थमा बाँच्न, आत्मनिर्भरता बढाउन, जवाफदेहिता, इमानदारिता, पारदर्शिता र जिम्मेवारीको साथ काम गर्न म सधै जिम्मेवार र प्रतिवद्ध छु ।’
यसैगरी पैयूँ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसले क्षेत्रीय कोषाध्यक्ष जानकी प्रधानलाई उम्मेदवार बनाएको छ । गठबन्धनको तर्फबाट मल्ल र प्रधान अध्यक्ष, उपाध्यक्षको उम्मेदवार भएका हुन । पैयूँका सात वटा वडा मध्य नेपाली काँग्रेसले वडा नम्बर १, ३, ६ र ७ मा र नेकपा माओबादी केन्द्रले वडा नम्बर २, ४ र ५ मा वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवार उठाएको छ ।

 

spot_img

भर्खरै