पर्वत/नेपाली काँग्रेसले पैयूँ गाउँपालिकाको अध्यक्ष पदमा जोश जागरले भरिएका तरुण युवा तोरण मल्ल ठकुरी (राज)लाई उम्मेदवार बनाएको छ । विगतमा सदरमुकामबाट टाढा र बिकट रहेको पैयूँ गाउँपालिकाको मुहार फेर्नका निम्ति भन्दै काँग्रेसले आशालाग्दा युवा मल्ललाई अगाडी सारेको हो । पैयूँको समृद्धि र विकासमा सधैँ चिन्तित रहने मल्ललाई यसपटक आफैले सोचेको समृद्ध पैयूँको सपना पुरा गर्ने जिम्मेबारी आएको भन्दै उनले आफुले बोलेका कुरा काममार्फत पुरा गरेर देखाउने प्रतिबद्धता राखेका छन् । गाउँमै स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्ने र विशेषगरी उद्यमशिल गाउँपालिका बनाउने मल्लले अठोट लिएका छन् ।
‘मेरो पहिलो लक्ष्य नै गाउँमै स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सिर्जना गर्ने हो, उद्यमशिल र देशकै नमुना गाउँपालिका बनाउने अठोट मैले लिएको छु’ मल्लले भने । नेपाल तरुण दल पर्वतका अध्यक्ष र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका मल्लले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई पैयूँबासीले विश्वास गरी मत दिने र आफूले सो मतको कदर गरी विकास र समृद्धिका कार्यमा क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् । ‘गाउँको समस्याहरु पहिचान गरी सम्बोधन गर्न, हरेक व्यक्तिलाई आत्मसम्मान, उद्यमशीलता, उत्पादन र सन्तुष्ट जीवनशैली दिन सधैँ क्रियाशील रहन्छु’ उनले भने–‘गाउँको विकास गर्न झुटा आश्वासन र सपनामा होइन यथार्थमा बाँच्न, आत्मनिर्भरता बढाउन, जवाफदेहिता, इमानदारिता, पारदर्शिता र जिम्मेवारीको साथ काम गर्न म सधै जिम्मेवार र प्रतिवद्ध छु ।’
मल्लले प्रचार अभियानलाई तिब्रता दिएका छन् । प्रचारका क्रममा घरघरमा पुग्दा मतदाताको माया, साथ समर्थनले उत्साहित बनाएको मल्लले बताए । यसैगरी पैयूँ गाउँपालिकामा नेपाली काँग्रेसले उपाध्यक्षमा क्षेत्रीय कोषाध्यक्ष जानकी प्रधानलाई उम्मेदवार बनाएको छ । गठबन्धनको तर्फबाट मल्ल र प्रधान अध्यक्ष, उपाध्यक्षको उम्मेदवार भएका हुन । पैयूँका सात वटा वडा मध्य नेपाली काँग्रेसले वडा नम्बर १, ३, ६ र ७ मा र नेकपा माओबादी केन्द्रले वडा नम्बर २, ४ र ५ मा वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवार उठाएको छ ।


