spot_img

आफुखुशी राहत बितरण र प्रचारमा जलजला गाउँपालिकाको रोक

पर्वत, चैत २४–जलजला गाउँपालिकाले आफुखुशी राहत बितरण गर्ने र सामाजिक सञ्जालमा प्रचार गर्नमा रोक लगाएको छ । गाउँपालिकाले लकडाउन अवधिमा खान नपाउने बिपन्न बर्गलाई सहयोगका लागि सहयोग गर्न इच्छा लागेमा गाउँपालिकाको राहत कोषमार्फत गर्न आग्रह गरेको छ । जलजला गाउँपालिकाको सोमबार बसेको बैठकले एकद्धार प्रणालीमार्फत नै गरिब तथा बिपन्न बर्गलाई राहत दिने योजना रहेको र अन्य कोही सहयोग गर्ने इच्छुकले त्यही कोषमार्फत गर्नुपर्ने निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए ।
‘आफु खुशी राहत दिने र प्रचारबाजी गर्न कसैले पाउदैन, गाउँपालिकाको राहतकोषमार्फत नै राहत बितरण गर्न पाइन्छ’ अध्यक्ष मल्लले भने । अध्यक्ष मल्लले गाउँपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा दुई लाख रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै उक्त कोषमा जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले ब्यक्तिगत रुपमा नगद १० हजार जम्मा गरेका छन् । गाउँपालिकाले अति बिपन्न बर्गको लगत वडास्तरबाट संकलनको काम भइरहेको भन्दै त्यस्ता बर्गलाई लक्षित गरेर राहत दिने पनि जनाएको छ ।
यसैगरी जलजला गाउँपालिकाले कुश्मामा निर्माण भएको आइसोलेसन वार्डका लागि सात लाख रुपैयाँ बिनियोजन गरेको छ । कुश्मास्थित गुप्तेश्वर क्याम्पसमा पर्वतका सबै पालिकाले सहयोग गर्नेगरी कोरोना अस्थायी अस्पताल स्थापना गरिएको थियो । त्यस्तै जलजला गाउँपालिकाले गाउँपालिकाभित्र कालोबजारी नहोस, खाद्यान्नको अभाव नहोस भनेर अनुगमन समिति गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष मल्लको संयोजकत्वमा गठन गरिएको समितिमा विभिन्न बिषयगत क्षेत्रबाट प्रतिनिधि तोकिएको छ । समितिले नियमित रुपमा बजारको अनुगमन गर्ने भएको छ ।
यता जलजला गाउँपालिकामा बिदेशबाट फर्किएका संकास्पद नौ जनाको सोमबार स्वाव लिइएको छ । दुबई, कतार, अष्ट्रेलियालगायतका मुलुकबाट हालै फर्किएका उनीहरुको स्वाव लिएर ल्याबमा परिक्षणका लागि पठाइएको अध्यक्ष मल्लले जानकारी दिए । जलजला गाउँपालिकाले बिदेशबाट फर्किएका संकास्पदलाई राख्नका लागि लुङ्दी आधारभुत बिद्यालयमा १५ बेडको क्वारेन्टाइन वार्ड निर्माण गरेको छ ।

spot_img

भर्खरै