spot_img

जलजलाका किसानले उत्पादन गरेको तरकारी कुश्मामा सहयोग, गाउँपालिका अध्यक्ष मल्लले दिए ब्यक्तिगत ३० हजार

पर्वत, चैत २७–जलजला गाउँपालिकाले कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्नेगरी तरकारी हस्तान्तरण गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म र सापकोटा कृषि फार्मले उत्पादन गरी सहयोग गरेको तरकारी गाउँपालिकाले ढुवानी खर्च ब्यहोरेर कुश्मा नगरपालिकाका बिपन्न परिवारलाई बितरण गर्नेगरी कुश्मा नगरपालिकाको खाद्य सामाग्री बैंकलाई हस्तान्तरण गरेको हो । उक्त तरकारी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले हस्तान्तरण गरेका हुन ।
अध्यक्ष मल्लका अनुसार बिहिबार आठ सय केजी तरकारी कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सुबेदी र सापकोटा कृषि फार्मले उत्पादन गरेको बन्दा, साग, धनियासहितको तरकारी प्रदान गरेको मल्लले जानकारी दिए । शालिजादेखि कुश्मासम्म ल्याउनका लागि ढुवानी खर्च जलजला गाउँपालिकाले ब्यहोरेको थियो । लकडाउनको अवधिमा गरिब र बिपन्न परिवारलाई तरकारीजस्तो सामान्य कुरा पनि किन्नका लागि आर्थिक अभाव हुने भएकोले थोरै भएपनि हस्तान्तरणले उनीहरुका लागि ठुलो राहत मिल्ने अध्यक्ष मल्लले बताए । उनले अझै थप तरकारी बितरण गर्ने योजना रहेको पनि मल्लले जानकारी दिए ।
यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कुश्मा नगरपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा ३० हजार रुपैयाँ नगद प्रदान गरेको छन् । उक्त रकम बिहिबार (आज) कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरेका थिए । मल्लले यसअघि ब्यक्तिगत रुपमा जलजला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा दुई लाख र नेपाली काँग्रेस महाशिला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा ब्यक्तिगत रुपमा नगद ३० हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।
त्यस्तै आजै जलजला गाउँपालिकाले जलजला वडा नम्बर ३ का गरिब तथा बिपन्नलाई राहत बितरण गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिए ।

spot_img

भर्खरै