पर्वत, बैशाख ५–कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले नगरभित्रको सत्य सुचना लुकाएर विज्ञप्ती प्रकाशन गरेका छन् । कुश्मा नगरपालिकाभित्रको आर्थिक अपारदर्शी रुपमा खर्च भइरहेको समाचार आइरहेको सन्दर्भमा बुधबार लामिछानेले प्रकाशन गरेको विज्ञप्ती झुट ठहरिएको छ । कुश्मा नगरपालिकामा उनले दुई लाख ६९ हजार मात्रै बेरुजु भएको दाबी विज्ञप्तीमा छ । तर महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा तीन करोड नौ लाख ७५ हजार बेरुजु उल्लेख छ ।
महालेखाको प्रतिवेदनमा कुश्मा नगरपालिकाको आर्थिक बर्ष ०७४÷०७५ मा एक अर्ब २० करोड १७ लाख ७९ हजारको लेखा परिक्षण भएको मध्ये तीन करोड नौ लाख ७५ हजार रुपैयाँ बेरुजु भएको पेज नम्बर पाँच सय ८८ मा उल्लेख छ । महालेखाको प्रतिवेदनको आधारमा सारथीन्युज डटकमले समाचार प्रकाशित गरेको थियो । लामिछानेले विज्ञप्तीमा उक्त समाचार गलत भएको दाबी गर्दै अर्को झुट जनमानसमा बाढ्ने प्रयास गरेका छन् । विज्ञप्तीमा नगरसभामा नोट अफ डिसेन्ट लेखेर निर्णयप्रति असहमति राख्ने उपप्रमुखमाथि गैरजिम्मेबार भनेका छन् ।
नगरमा निर्वाचनमार्फत नगरपालिकामा सबैभन्दा बढी मत ल्याएर बिजयी भएकी उपप्रमुख सिता काफ्ले लामिछानेलाई उनले गैरजिम्मेबार भनेर आक्षेप लगाएका छन् । यसअघि कुश्मा नगरपालिकाले महालेखाको प्रतिवेदन निवेदन दिएर माग गर्दा अहिलेसम्म नगरपालिकाले दिएको छैन । तर महालेखा परिक्षकको कार्यालयले आफ्नो वेवसाइडमा सार्वजनिक गरेको छ । गत फागुन २३ गते सुचना माग गर्दै कुश्मा नगरपालिकामा निवेदन दिएपनि उक्त निवेदनको कारबाही नगरी सुचनाको हकसमेत प्रमुख प्रशासकिय अधिकृत लामिछाने र सुचना अधिकारी लालप्रसाद शर्माले उल्लंघन गरेका छन् ।


