पर्वत, बैशाख ५–यहाँ भएको धौलागिरी अञ्चलस्तरीय टि टवान्टी क्रिकेट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बागलुङ प्रथम भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १ पाङमा सामाजिक सेवाका लागि बहुउद्देश्यीय संस्थाअन्र्तगतको पाङ क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा धौलागिरी क्रिकेट क्लबले उपाधि जितेको हो । फाइनलमा पुगेको पाङ क्रिकेट क्लबलाई पराजित गर्दै धौलागिरीले उपाधि हात पारेको हो ।
प्रथम हुने धौलागिरी क्रिकेट क्लबले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पाङ क्रिकेट क्लबले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए । बिजयी प्रतियोगीलाई जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मल्लले वडास्तरमा भएका यस्ता प्रतियोगिताले खेलाडीको स्तर बढाउने र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न मद्दत गर्ने बताए । उनले पछिल्लो समयमा क्रिकेट नेपालमा लोकप्रिय हुँदै गएको र यसले विश्वमाझ नेपालको छवि बढेको भनाई राखे । उनले राज्यले खेलक्षेत्रमा लगानी बढाउनुपर्ने र स्थानीयस्तरमा यस्ता प्रतियोगिता निरन्तर हुने बाताबरण बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र सुवेदी, बिष्णुप्रसाद पौडेललगायतले बोलेको खेल संयोजक कमल रिजालले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा वेस्ट बलिङको उपाधि इश्वर रेग्मी, वेस्ट ब्याडमेनको उपाधि किसान खड्का, म्यान अफ द सिरिजको उपाधि बिजय विकले पाए । कार्यक्रमको सञ्चालन नारायण आचार्यले गरेका थिए ।
स्रोत उल्लेख नगरी यो अनलाइनको समाचार साभार नगरीदिनुहोला । अन्यथा कानुनअनुसार हुने ब्यवहोरा अनुरोध छ ।




