spot_img

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

काठमाडौं, पुस १३–केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  ललिता  निवास  प्रकरणमा  जोडिएका  रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट  नयाँ  तथ्य  प्राप्त  गरेको  छ  ।  निजहरूको  बयानसँगै  नयाँ  तथ्य  खुल्दै  गर्दा  मुख्य  योजनाकार  भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र  कमलादीबाट श्रीमान्लाई  पक्राउ  गरेको  थियो  ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट दोस्रो पटक आइतबार पुनः पाँच दिनको म्याद थपिएको छ । सीआईबीले सुवेदी दम्पतीसँगको बयानपछि  सोही  प्रकरणका  मुख्य  योजनाकार  शोभाकान्त  ढकालसँग  समेत  बयान  लिन  थालेको  हो ।
शोभाकान्त ढकाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् । सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सुवेदी दम्पती र शोभाकान्त ढकालको बयानसँगै  थप  अभियुक्तको  संलग्नता  खुल्दै  गएको  बताए  ।  निर्देशक  सिंहले  भने,  “ललिता  निवास जग्गा हिनामिनामा जोडिएका अन्य आरोपीबारे नयाँ तथ्यहरू खुल्दै गएका छन् ।” उनले त्यसै आधारमा सरकारी जग्गा हिनामिनामा जोडिएका अन्य व्यक्तिको खोजी थालिएकोसमेत जानकारी दिए ।
उनीहरूको  बयानपछि  अन्य  आरोपीमाथि  सीआईबीले निगरानी बढाएको छ । तिनीहरूका नाममा पक्राउ पुर्जी जारी भइसकेको भए पनि ती व्यक्ति को हुन् भन्नेबारे भने खुलाइएको छैन । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललिता निवासको २९९ रोपनी जग्गामध्ये १४६ रोपनी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको खुलेको छ ।
सीआईबीसँगको बयानमा सुवेदी दम्पतीले आफ्नो परिवारको नाममा रहेको जग्गा विभिन्न मोहीसँग किनेको दाबी  गरेका  छन्  ।  सुवेदी  परिवारको  नाममा  रहेको  ललिता  निवासको  २३  रोपनी  जग्गा  श्रीमती  माधवी  सुवेदी, उनका चार छोरी र दुई छोरा गरी सात जनाको नाममा रहेको खुलेको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।
spot_img

भर्खरै