spot_img

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

पर्वत, बैशाख २६–नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय (बिपि स्मृति भवन) कोरोना अस्पताललाई दिने भवन निर्माण समितिले निर्णय गरेको छ । आइतबार बसेको बिपि स्मृति भवन निर्माण समितिको बैठकले भवनमा कोरोना अस्पताल÷आइसोलेसान÷क्वारेन्टाइन बनाउन जिल्ला कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिलाई दिने निर्णय गरेको हो । बिश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट पर्वतमा पनि तिब्र रुपमा संक्रमण बढ्दै गइरहेकोले कोभिड नियन्त्रण तथा न्युनिकरणका लागि डिसिसिएमसीलाई क्वारेन्टाइन, आइसोलेसन वा कोभिड अस्थायी अस्पताल निर्माणको प्रयोजनका लागि बिपि स्मृति भवन प्रदान गर्ने निर्णय गरेको भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो । ‘पर्वतमा कोरोनाबाट संक्रमितको संख्या दैनिक बढिरहेको छ, त्यसैले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि कोभिड अस्थायी अस्पताल, आइसोलेसन, क्वारेन्टाइन जे बनाएपनि दिन तयार भएका छौ’ जोशीले भन्नुभयो । नेपाली काँग्रेसको सम्पत्ति भनेकै जनता भएको र काँग्रेस जनताप्रति सधै जिम्मेबार र उत्तरदायी भएकोले जनतालाई परेको समस्यामा आवश्यक परेमा पार्टी कार्यालयको भवन कोरोना अस्पतालका लागि दिने निर्णय गरेको जोशीले जानकारी दिनुभयो । काँग्रेसले कोरोना अस्पताल वा आइसोलेसनका लागि आवश्यक पर्ने बेड, कपडा, खाद्यान्नलगायतका सामानको ब्यवस्थापन गर्न पनि तयार रहेको बताएको छ । ‘स्वास्थ्यकर्मी, चिकित्सक र स्वास्थ्य उपकरणबाहेक अन्य ब्यवस्थापनमा सहयोग गर्न नेपाली काँग्रेस तयार छ’ जोशीले भन्नुभयो–‘आम नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौ, नागरिकमैत्री पार्टीको हिसाबले पार्टीको भवनमा कार्यालय नसर्दै कोरोना अस्पतालका लागि भवन दिन तयार भएका हौ ।’ नेपाली काँग्रेसले निर्माण गरेको भवनमा अहिले दुई वटा ठुला सभाहल र पाँच वटा कोठा रहेका छन् । उक्त भवनमा कम्तीमा पनि ५० वटा बेड राखेर कोरोना संक्रकित बिरामीको उपचार गर्न सकिन्छ ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेबारीबोध देखाएर नयाँ भवनमा कोरोना अस्पताल बनाउन दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

spot_img

भर्खरै