पर्वत, माघ ५–जलजला गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गाको टुंगो लगाएको छ । हाल गाउँपालिकाको कार्यालय रहेको नजिकै गाउँपालिकाले जग्गाको टुंगो लगाएर आइतबार सम्पन्न गाउँसभाले पारित गरेको हो । गाउँसभाले १२ रोपनी जग्गाको टुंगो लगाई भवन निर्माण गर्ने निर्णय गरेको हो ।
प्रशासनिक भवन निर्माणका लागी जग्गा प्राप्त गर्न कार्यपालिका वैठकले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई जिम्मा दिएको थियो । सोही अनुरुप करिव आठ रोपनी जग्गा खरिद गर्ने र बाँकी जग्गा निःशुल्क प्राप्त गर्ने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडी वढाउने निर्णय गरेको हो । ‘गाउँपालिकाको प्रशासनकि भवन निर्माणका लागि जग्गाको टुंगो लगाउने काम गाउँसभाले गरेको छ’ अध्यक्ष मल्लले भने । त्यसैगरी कच्ची केही ग्रामिण सडकमा यातायात सहज रुपमा गुड्ने बनाउनका लागि तीन वटा सडकमा ३०÷३० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय भएको पनि अध्यक्ष मल्लले जानकारी दिए ।
उनकाअनुसार शालिजा र लेखफाँट जाने सडकका लागि ३०÷३० लाख र मल्लाज, बासखर्क हुँदै लेखफाँटको फलामेडाँडा जाने सडकमा ३० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको हो । त्यस्तै गाउँसभाले वारीबेनी बसपार्क कालोपत्रे गर्न बहुबर्षिय योजनाअन्र्तगत चालु आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ । यसैगरी जलजला गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नतीका लागि प्रस्ताव गरिएको छ । गाउँसभाले सबै मापदण्ड पुग्ने भएका कारण जलजला गाउँपालिकालाई नगरपालिका बनाउनका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।
गाउँसभाले जलजलाको हम्पालक्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने, मजदुर कोषलाई प्रभावकारी बनाउने, १० शैय्याको अस्पताललाई तत्काल निर्माण सुरु गर्ने, औद्योगिकग्रामलाई थप ३० लाख थप गर्ने निर्णय गरेको पनि अध्यक्ष मल्लले जानकारी दिए ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले नवौ गाउँसभाले विभिन्न महत्वपूर्ण निर्णय गरेको जानकारी दिए । उनकाअनुसार सभाले घरनक्सा अभिलेखीकरणका लागि राजश्वका दरमा केही परिवर्तन गर्ने, घर नक्सा पासका लागि गाँउपालिका भित्रका विभिन्न सडकमा मापदण्ड परिवर्तन गर्ने निणर्य पनि गरेको छ ।
त्यसैगरी आगामी शैक्षिक सत्रदेखी गाँउपालिकाका सामुदायिक विद्यालयहरु मर्ज गर्दै जाने, विभिन्न योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संसोधन गर्ने र विभिन्न योजना तथा कार्यक्रम फरफारक तथा अनुमोदन गरिएको पनि प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी दिए ।
जलजलाका गाउँसभा, महत्वपूर्ण निर्णय गर्दै सम्पन्न


