spot_img

पर्वतमा करदाता सेवा कार्यालय स्थापना

पर्वत, भदौ २२–लामो समयदेखि कहिले पोखरा त कहिले बागलुङ पुगेर कर बुझाउदै आएका पर्वतबासीले अव करदातासम्बन्धी सम्पूर्ण सेवा पर्वतमै पाउने भएका छन् । आन्तरिक राजश्व कार्यालय बागलुङले सोमबारदेखि पर्वतको कुश्मामा करदाता सेवा कार्यालय स्थापना गरेपछि पर्वतबासीले बागलुङ पुग्नुपर्ने बाध्यता हटेको हो । कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित एकताचोकमा स्थापना गरिएको करदाता सेवा कार्यालयको सोमबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उद्घाटन गरेका हुन । प्रजिअ रेग्मीले पहिलो सेवाग्राहीका रुपमा सुर्यकुमारी शर्मालाई पान दर्ताको प्रमाणपत्र समेत प्रदान गरी सेवा शुभारम्भ गराएका थिए ।
कार्यक्रममा प्रजिअ रेग्मीले विगतमा बागलुङ पुगेर सेवा लिन बाध्य भएका पर्वतबासीलाई करदाता सेवा कार्यालय स्थापनाले सहज बनाएको बताए । आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुबेदीले पर्वतबासीको बर्षौको माग पुरा भएको भन्दै अव पान, भ्याट दर्तादेखि करचुक्ता लिन र कर बुझाउनका लागि बागलुङ धाउन नपर्ने भएको जानकारी दिए । बदमासी नगर्दासम्म कोही पनि त्रसित नबनी इमान्दारिता देखाएर कर बुझाउन पनि सुबेदीले आग्रह गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले अव विगतमा कोलेनिकाले गर्ने करसम्बन्धीको सेवा पनि करदाता सेवा कार्यालयबाटै प्रदान हुने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले करदाता सेवा कार्यालय सबै पालिकासम्म पु¥याउन सकेमा जनतालाई सहज हुने भन्दै विगतमा बागलुङसम्म पुगेका पर्वतबासीलाई केही सहज भएपनि दक्षिण क्षेत्रको पैयूँ, बिहादी, महाशिलाका बासिन्दालाई भने कर बुझाउनका लागि अझै पनि असहज भइरहेको बताए । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले ब्यावसायीबाट राज्यले सधै करको मात्रै अपेक्षा गरेपनि ब्यावसायीलाई राहत दिने तथा ब्यावसायीको समस्याप्रति कहिल्यैपनि सोचबिचार पु¥याउन नसकेको बताए । सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय कुश्माका प्रमुख सुन्दर श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत बुद्धिप्रसाद आचार्यलगायतले बोलेका थिए । आन्तरिक राजश्व विभागले चालु आर्थिक बर्ष देशका विभिन्न जिल्लामा गरी २४ वटा करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सोमबार पर्वतमा करदाता सेवा कार्यालय स्थापना भएको कर अधिकृत एवम् करदाता सेवा कार्यालय कुश्माका प्रमुख श्रेष्ठले जानकारी दिए ।

spot_img

भर्खरै