पर्वत, चैत १२–कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको उपचारका लागि पर्वतको कुश्मामा भेन्टिलेटरसुबिधा सहित १५ शैय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । कुश्मा नगरपालिकासहित सात वटा पालिका, पर्वत अस्पताल, जिल्ला प्रशासन कार्यालयको सहयोगमा गुप्तेश्वर बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।
कोरोनाको आशंका गरिएका विरामी शंका लागेमा वा त्यस्ता बिरामी आएमा त्यही अस्पतालमा राखेर उपचार गर्नेगरी अस्पताल निर्माण गरिएको हो । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । ‘अक्सिजन र विरामीको उपचारका लागि आवश्यक इक्युमेटहरुको खरिद गरी सम्पूर्ण तयारी गरिएको छ’ नगर प्रमुख जोशीले भने ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको संयोजकत्वमा भएको बैठकमा केही पालिकाले बिरोध गरेपछि कुश्मा नगरपालिकाका प्रमुख जोशीले २४ घण्टामै अस्थायी अस्पताल सुरुवात गरेका हुन । ‘म आफै खटेर २४ घण्टामै अस्पताल तयार गरेको हु’ उनले भने–‘पैसा ठुलो होइन, महामारीको समयमा अन्य योजना काटेर पनि कोरोनाबिरुद्धको तयारी गर्नुपर्छ भन्ने सोचे ।’
नगर प्रमुख जोशीले बुधबार अस्पतालको सम्पूर्ण ब्यवस्थापन भएपछि पर्वत जिल्ला अस्पतालका प्रमुख डा.शिशिर देवकोटालाई अस्पतालको चाबी हस्तान्तरण गरेका छन् । ‘सबै पालिका मिलेर अस्पताल बनाऔ भनेर लागे, तर केही पालिकाले अफ्ठ्यारो मान्नुभयो मैलै पर्वत अस्पतालका चिकित्सकलाई कति लाग्छ कुश्मा नगरपालिकाले ब्यहोर्छ भनेर हौसला दिए’ जोशीले भने ।
अस्पतालमा आइसियुमा राख्नपर्ने बाहेकका सवै विरामीको उपचार सोही अस्पतालबाट गरिने भएको छ । विरामीको एक्सरेका लागि नीजि क्लिनिक र जिल्ला अस्पतालको एक्सरे प्रयोग हुनेछ । कोरोनाको ल्याव परिक्षणका लागि नमुना संकलन गरी काठमाडांैं पठाउनका लागि एउटा गाडी तयारी अवस्थामा राखिएको छ ।
अस्पतालका लागि तत्काल आबश्यक ५० लाख रुपैया पर्वतका सात वटै स्थानिय तहबाट जुटाउने निर्णय जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले गरेपनि अहिलेसम्मको खर्च कुश्मा नगरपालिकाले गरेको नगर प्रमुख जोशीले जानकारी दिए ।
कुश्मामा यसरी बन्यो १५ शैय्याको कोरोना अस्थायी अस्पताल


