पर्वत, असोज ५–अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट भब्य स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीसहित समाजका पदाधिकारी, सदस्यसहित नेपालीले भब्य स्वागत तथा सम्मान गरेका हुन ।
कार्यक्रममा नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीले मल्लको अमेरिकी भ्रमणको सफलताको शुभकामना दिए । उनले आफ्नो जन्मथलो नेपालको पर्वत भएर अमेरिका बसेपनि आफु जन्मेको ठाउँको झनै बढी माया रहेको बताए । उनले उपयुक्त समय मिलाएर आफु सन् २०२० मा नेपाल आउने र त्यतिबेला पर्वतको जलजलाको भ्रमण गर्ने जानकारी दिए ।
भण्डारी छोटो समयमै अमेरिकाको तल्लो सदनको सांसदसँगै राज्य सञ्चालन समितिको सदस्यसम्म पुगेका छन् । उनले जलजला गाउँपालिकामै विवाह भएकाले पनि जलजलामा पुग्दा आफुबाट केही न केही गर्ने आश्वासन दिए । जलजलामा थुप्रै सम्भावना भएको आफुले पनि पाएको भन्दै भण्डारीले त्यहाँ जलविद्युत, पर्यटन, जडीबुटी उत्पादन, कृषिलगायतमा लगानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले अमेरिकामा रहेका विभिन्न नेपाली समुदायले गरेको सहयोग, स्वागत तथा सम्मानले निकै उत्साहित बनाएको बताए । उनले अमेरिकी सांसद ह्यारी भण्डारीले देखाएको सद्भावप्रति धन्यबाद दिदै जलजला गाउँपालिकाको भ्रमण गरेर त्यहाँको सम्भावनाको विकासका निम्ति सघाउन आग्रह गरे ।
कार्यक्रममा पर्वत मोदीकाली समाज अमेरिकाका अध्यक्ष धनबहादुर गुरुङले मल्ललाई स्वागत गर्दै कार्यक्रममा विशेष महत्व दिएर उपस्थित भएका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य भण्डारीलाई धन्यबाद दिएका थिए । समाजका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रमेश सुबेदीले गरेका थिए ।
यसअघि मल्ललाई विभिन्न राज्यका नेपालीहरुका साथै नेपाली जनसम्पर्क समिति, गैरआवासिय नेपाली संघलगायत संघसंस्थाले स्वागत तथा सम्मान गरिसकेका छन् । मल्ल एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए । अमेरिकाको एटलान्टाबाट मेरील्याण्ड हुँदै न्युयोर्क पुगेका मल्ल पुन मेरील्याण्ड पुगेका छन् । मल्ल यही असोज १० गते स्वदेश फर्कने भएका छन् ।




