पर्वत, बैशाख २८–नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने बेला आएको बताएका छन् । उनले तरुण दल जुनसुकै बेला आन्दोलनमा आउने भन्दै तयार रहन सबै सबै तरुणलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस जलजला गाउँपालिका समितिको आयोजनामा शनिवार जलजला–९, बनौमा आयोजित पार्टीको जागरण अभियानलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन । चुनाव अघि न्याय, सुशासन र समृद्धिको सपना बाँडेर जनताको दुई तिहाइ मत हासिल गरेको नेकपाले सत्तामा पुगेपछि भ्रष्ट्राचार, महंगी र अपराधीकरणलाई संस्थागत गरेर जनतालाई धोका दिएको उनको दाबी छ ।
नेकपाको ज्यादतीको भण्डाफोर गर्न काँग्रेसले देशभर जागरण अभियान संचालन गरेको भन्दै उनले आवश्यक परे सडकमा आउने चेतावनी दिए । ‘दुईतिहाई जनमत पाएको सरकारले देश बनाउँछु भन्दा हामीले पनि पत्यायौं र डेढ बर्षसम्म हे¥यौं, तर यो डेढ बर्षमा अन्याय, अत्याचार र भ्रष्टाचारले जनता अत्तालिइसकेको पाएका छौ’ उनले भने । सरकारका कारण राष्ट्रियता र लोकतन्त्र समेत संकटमा परेकोले देशभक्त सबै जनतालाई चनाखो भएर काँग्रेसको अभियानमा समर्पित हुन पनि आब्हान उनले गरे ।
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले संघीय सरकारले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेर काम गर्न नदिएको वताउँदै ओली सरकार नै जनाधिकार र संघीयताको खिलापमा रहेको आरोप लगाए ।
केन्द्रीय सरकारको निर्देशनमा आफूले गतबर्ष करको दायरा बढाएको भएपनि करबाट जनताहरु मर्माहत भएकोले आगामी बर्षको बजेट, नीति तथा कार्यक्रममा करको दायरा घटाउने प्रतिवद्धता उनले जनाए । उनले संविधानमै स्थानीय स्रोत साधनमाथि स्थानीय सरकारको अधिकारको व्यवस्था भएपनि केन्द्रको अनावश्यक हस्तक्षेपले जनताको घरदैलोमा विकास र समृद्धि पु¥याउन नसकिएको दावी गरे । लोकतन्त्र र संघीयतालाई बलियो बनाउने हो भने स्थानीय सरकारलाई अझैबढि अधिकार प्रत्यायोजन गर्नुपर्ने धारणा उनले राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसीले जनताको पीरमर्का बुझ्न र जनतालाई जागृत गर्न काँग्रेस जनताको घरदैलोमा आएको वताए । नेपाली काँग्रेस बनौका सभापति होमबहादुर फकामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवं महिला नेतृ सीमा पुन, नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य सोम पुन, जलजला ४ का वडाअध्यक्ष भीष्म मल्ल र नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सदस्य हरिनारायण रेग्मी काँग्रेस बनौका पूर्वसभापति गम्भिर फकामी, नेबिसंघका नेता आकाश चोचाङ्गी लगायतले बोलेको जलजला गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा नेकपा र जनमुक्ति पार्टीका छ जना काँग्रेसमा प्रवेश गरेका थिए ।



