पर्वत, बैशाख १–कुश्मा नगरपालिकामा ठुलो रकम बेरुजु भेटिएको छ । अपारदर्शी र मनोमानी रुपमा खर्च गर्दै आएको आरोप लागेको कुश्मा नगरपालिकामा महालेखा परिक्षकको कार्यालयले खर्चमा ठुलो रकम बेरुजु निकालेको हो । रामचन्द्र जोशी नगर प्रमुख रहेकोे कुश्मा नगरपालिकाको खर्च सबैभन्दा बढी अपारदर्शी देखिएको हो ।
कुश्मा नगरपालिकाको महालेखा परिक्षकको कार्यालयले एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखा परिक्षण गरेको थियो । त्यसमध्ये कुश्मा नगरपालिकाको तीन करोड नौ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको छ । कुश्मा नगरपालिकाले इन्धन, खाजा खर्च, भत्तामा ठुलो रकम खर्च गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले नगरबाट पाउने तलबभत्ताबाट बिपन्न र गरिबलाई बितरण गर्ने प्रचार गरेपनि कुश्मा नगरपालिकाभित्र भएको ठुलो रकम अपारदर्शिताले कुश्मा नगरपालिकाभित्र भ्रष्टाचार संस्थागत बन्दै गएको देखिएको छ ।
कुश्मा नगरपालिकाभित्र वडालाई बितरण गरिएको रकमसमेत असन्तुलित छ । चलाउन नजान्ने जनप्रतिनिधिको नाममा समेत मोटरसाइकल खरिद गरेर अन्य ब्यक्तिलाई चलाउन दिएपनि नगरपालिकाबाट नियमित रुपमा इन्धन खर्च भइरहेको देखिएको छ । त्यसैगरी विकासको अवस्था, भौगोलिक अवस्था, कर्मचारी संख्या, केन्द्रसँगको दुरीको आधार र दिगो तथा सबै जनता लाभान्वित हुने योजनामा बजेट बिनियोजन गर्नुपर्नेमा मनोमानी र बितरणमुखी योजना र बजेट बितरण भएको आरोप छ ।
महालेखा परिक्षकको कार्यालयका एक महालेखा परिक्षकले कुश्मा नगरपालिकाभित्रको खर्च प्रक्रिया निकै नै अपारदर्शिता र आर्थिक मनोमानीका रुपमा लिइएको बताए । ‘आर्थिक ऐन, बिधि र प्रक्रियाभन्दा पनि आपरदर्शिता र मनोमानी रुपमा खर्च गरेको भेटिएको छ’ उनले भने ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछाने र लेखाअधिकृत कृष्णप्रसाद शर्मा समायोजनमा अन्यत्र सरुवा भएका छन् । तर उनीहरुले कुश्मा नगरपालिकामा आउने प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी र लेखा अधिकृत कमल पौडेललाई केही दिन ढिला आइदिन आग्रह गरेको स्रोतले बतायो ।
लामिछाने र शर्मा सरुवा भएपछि अहिले राती ८ बजेदेखि मध्यरातसम्म लेखा शाखा खुल्दै आएको छ । नगरपालिकास्रोतका अनुसार नगरपालिकामा शिर्षक खोज्ने र बिल मिलाएर चेक काट्न भ्याइनभ्याइ छ । केहीदिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मामा आयोजना गरेको अन्र्तक्रियामा पनि कुश्मा नगरपालिकाको अपारदर्शिताको बिषयमा चर्चा भएको थियो ।
कुश्मा नगरपालिकाको आर्थिक खर्च अपारदर्शी, तीन करोड बेरुजु



