पर्वत, माघ २०–यहाँ लिफ्ट खानेपानी योजना सुरु भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारी करिब तीन सय घरमा पानीको सुविधा पु¥याउनेगरी मोदीखोला किनारमा मुख्य ट्यांकीको शिलन्यास गरिएको छ । झण्डै पाँच सय मिटर माथि पानी तानेर त्यहाँका तीन सय घरमा एक घर एक धारा पु¥याउनेगरी योजना सुरु गरिएको हो ।
योजनाको शनिबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गरे । पानीको मुहान रहेको मोदीखोला किनारमा पुगेर तिमिल्सिनाले शिलन्यास गरेका हुन । उनले ठुला योजना समयमा सम्पन्न नहुने रोग बढेको भन्दै यो योजना तोकिएको समयभन्दा एक महिना अघि भएपनि छिटो निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले योजना समयमा सम्पन्न भएमा बजेटको जिम्मा लिने प्रतिबद्धता पनि जनाए । ‘समयमा काम सम्पन्न गर्नुस्, बजेटको कुनैपनि चिन्ता लिनुपर्दैन’ उनले भने ।
उनले पछिल्लो समयमा लिफ्टमार्फत पानी तानेर बितरण गर्ने क्रम बढेको र त्यसका लागि पानी तान्न खर्च हुने बिद्युत महसुल छुट दिने ब्यवस्थाका लागि सरकारसमक्ष पहल गर्ने बताए । ‘ब्यक्तिको घरको छतछतमा निकाल्ने कुरा छुट्टै हो तर समुदायले खानेपानी लिफ्टमार्फत तान्दा लाग्ने महसुलमा सरकारले छुट दिनुपर्छ, त्यसका लागि मैले पनि पहल गर्छु’ उनले भने ।
मोदीखोला किनारमा ६० हजार लिटरको ट्यांकी निर्माण गरी त्यहाँबाट सिल्मीचौरसम्म तीन सयमिटर माथि पानी पहिलो चरणमा तानिनेछ । त्यहाँबाट पिप्ले, गैराबारी र माझीगाउँका एक सय ३८ परिवारलाई पानी बितरण गरिने भएको छ । सिल्मीबाट काफ्लेगैरासम्म पुन पानी तानिनेछ । त्यहाँबाट २५ परिवारलाई पानी बितरण गरिनेछ । त्यहाँ अर्को ट्यांकी निर्माण गरी गहते, चाक्लेकुलो, रोहोटेपानी, तमादी गरी एक सय ३२ घरधुरीमा पानी बितरण गर्ने योजना रहेको पनि डोटेलले जानकारी दिए ।
उनले सबै गरी करिब तीन सय घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्य रहेको पनि बताए । चालु आर्थिक बर्षका लागि ४५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । बहुबर्षिय योजना भएपनि दुई बर्षभित्रै योजना सम्पन्न गर्ने लक्ष्य पनि लिइएको हो । डोटेलकाअनुसार यो योजनामा जम्मा पाँच सय मिटर दुरीसम्म पानी पम्प गरेर तानिने भएको छ ।
खानेपानी योजना शिलन्यासका अवसरमा प्रदेशसभा सदस्य जुनादेवी नेपाली, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश प्रमुख शिव शर्मा अधिकारी, काँग्रेस नेता शिवप्रसाद सुवेदी, नेकपाका नेता मेघनाथ सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
पिपलटारीमा लिफ्ट खानेपानी योजना सुरु



