पर्वत, माघ १८–जिल्ला समन्वय समितिले शुक्रबार यहाँ बार्षिक समिक्षा गरेको छ । कार्यक्रममा आर्थिक बर्ष २०७४÷०७५ मा स्थानीय तहले गरेका गतिविधि, विकास निर्माणका बारेमा दुई नगरपालिका, पाँच गाउँपालिका र जिल्ला समन्वय समितिले प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका समन्वय अधिकारी बिष्णुप्रसाद भुसालले जिल्ला समन्वय समितिले स्थानीय तहमा गरेका समन्वयका कामका बारेमा जानकारी दिए ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछाने, फलेबास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोती सापकोटा, पैयूँ गाउँपालिकाका जीतबहादुर राना, मोदी गाउँपालिकाका कुमानसिंह राना, जलजला गाउँपालिकाका मुना अधिकारी, महाशिला गाउँपालिकाका किसान क्षेत्री, बिहादी गाउँपालिकाका ऋषिराम पन्थीले आ–आफ्नो पालिकाको गतिविधि, बजेटको अवस्था, खर्चको अवस्था, समस्या, चुनौतिलगायतका बिषयमा जानकारी गराएका थिए ।
सबै पालिकाको मुख्य समस्या संघीय कानुन समयमा प्राप्त नभएको, स्थानीय करको बिषयमा दोहोरो नीति भएको, स्थानीय पालिकाले स्वतन्त्र रुपमा काम गर्न नपाएको, प्रदेश तथा संघले योजना छनौट गर्दा स्थानीय पालिकासँग समन्वय नगरेको जस्ता गुनासा राखेका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले स्थानीय तहमा जुन किसिमको अधिकारको हल्ला गरिएको थियो त्यो नभएको गुनासो गरेका थिए । उनीहरुले संघीयताको मर्मबिपरित जिल्लामा पालिकाका विभिन्न अधिकार कटाती गरेर कार्यालय स्थापना गरिएकोप्रति असन्तुष्टि जनाएका थिए ।
कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पालिकाका समस्या तथा गुनासालाई आफ्नो ठाउँबाट सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले स्थानीय तहसँग मिलेर विकास निर्माणका काम गर्ने बताए । प्रतिनिधिसभा सदस्य पदम गिरी, प्रदेशसभा सदस्य जुनादेवी नेपालीले समृद्धिको सपनालाई अहिलेको सरकारले साकार पार्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला न्यायाधिश सुर्यबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेल, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, नेकपाका जिल्ला संयन्त्र सदस्य गोबिन्द पहाडी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मालगायतले बोलेका थिए ।


