पर्वत, माघ २–पछिल्लो समय आफ्नो जन्मदिनमा पाटीको नाममा ठुलै धनराशी खर्च गर्ने बढेको पाइन्छ । केक काट्नेदेखि होटल, रेष्टुरेन्टमा आफन्त, साथीभाई शुभचिन्तकलाई जम्मा गर्ने क्रम बढेको छ । यस्तो समयमा यहाँको एक गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेस युवा नेताले जन्मदिनमा फजुल खर्चलाई रोकेर अनाथालयलाई सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले अनाथलयलाई ब्यक्तिगत ५० हजार सहयोग गरेका हुन् ।
बागलुङबजारमा रहेको मानव सेवा आश्रमलाई मल्लले बुधबार नगद प्रदान गरेका हुन । परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका बृद्धबृद्धा, बालबालिकालाई संरक्षण दिँदै आएको संस्थालाई मल्लले आफ्नो जन्मदिनको अवसरमा नगद प्रदान गरेको जानकारी दिए । ‘जन्मदिनमा अनाथलयजस्तो संस्थालाई सहयोग गरेको हुँ’ उनले भने । आफन्त तथा परिवारजन नभएका अनाथ नागरिकलाई संरक्षण गर्ने दायित्व राज्यको भएपनि संस्थाले जिम्मा लिएकोमा उनले धन्यबाद दिए ।
साथै मल्लले आगामी दिनमा समेत यस्ता संघसंस्थालाई आफ्नो निरन्तर सहयोग रहने पनि बताए । यो संस्था ०७३÷०७४ मा दर्ता भई निरन्तर रुपमा अलपत्र परेका जेष्ठ नागरिक र बालबालिकालाई संरक्षण तथा रेखदेख गर्दै आएको छ ।
संस्थाले विशेषगरी मानसिक सन्तुलन गुमाएर अलपत्र परेका, सडक बालबालिकालाई लगेर हेरचाह गर्नेगरेको जनाएको छ । अहिले उक्त संस्थामा २५ जना आश्रित भएका छन् । जलजला गाउँपालिका अध्यक्ष मल्लले २५ जनालाई जनही दुई हजार पर्नेगरी ५० हजार एकमुष्ठ संस्थालाई सहयोग गरेको जानकारी दिए ।





