spot_img

गाउँपालिका अध्यक्षद्धारा ब्यक्तिगत एक लाख दान

पर्वत, पुस १०–जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले ब्यक्तिगत रुपमा एक लाख दान गरेका छन् । जलजला–५ मा रहेको चन्द्रेश्वर शिवालयमा आयोजित शिवमहापुराण तथा विश्वशान्ति धनधान्याञ्चल ज्ञानमहायज्ञमा मल्लले एक लाख ११ हजार एक सय ११ रुपैयाँ दिान गरेका हुन । यो शिवालयको ब्यवस्थापन तथा विकासका लागि स्थानीयले महायज्ञ लगाएका हुन ।
शिवालयको विकासका लागि आफ्नो ब्यक्तिगत रुपमा पनि सहयोग होस् भनेर सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिए । ‘सामाजिक तथा धार्मिक काममा मेरो ब्यक्तिगत रुपमा पनि साझेदारी रहोस् भनेर सहयोग गरेको हुँ’ मल्लले भने । मल्लले धार्मिक विकाससँगै पर्यटन विकासलाई पनि जोडेर गाउँपालिकाभित्र रहेका सबै पर्यटकीयस्थलको प्रचारप्रसार तथा विकासका लागि गाउँपालिका सधै सक्रिय रहेको धारणा पनि राखे । चन्दे्रश्वर शिवालयका लागि चालु आर्थिक बर्ष गाउँपालिकाले समेत एक लाख रुपैयाँ बिनियोजन गरेको मल्लले जानकारी दिए ।
मुलसडकदेखि शिवालयसम्म आउने पदमार्ग निर्माणका लागि उक्त रकम बिनियोजन गरेको पनि उनले बताए । महायज्ञ यही पुस २ गतेदेखि सुरु भएको हो । महायज्ञमा हालसम्म ३० लाख रुपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष हिराबहादुर जिसीले जानकारी दिए । महायज्ञबाट संकलन भएको रकमले शिवालयको नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणमा खर्च गर्ने योजना रहेको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताए ।
‘यो चन्द्रेश्वर शिवालयको ऐतिहासिक महत्व रहेको छ, त्यसैले हामीले नियमित पुजा चलाउनुका साथै पूर्वाधार निर्माण गर्ने उद्देश्यले रकम संकलन गर्न महायज्ञ लगाएका छौ’ खत्रीले भने । उनकाअनुसार शिवालयको महत्व रहेपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको थियो । पुस १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा भिमनाथ पराजुलीले कथावाचन गर्दै आएका छन् ।

 

spot_img

भर्खरै