पर्वत, भदौ १७–सुन्दरडाडा आमा समुहले आफ्नै भवन निर्माण गरेको छ । जलजला गाउँपालिकालगायत विभिन्न ब्यक्ति तथा संघसंस्थाको सहयोगमा भवन निर्माण भएको हो । भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शनिबार उद्घाटन गरेका छन् । समुहले भवन उद्घाटनसँगै दरखाने कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भवन निर्माणमा लगानी गरेपछि त्यसबाट लाभ लिनसक्नुपर्ने बताए । उनले गाउँमा लाखौका भवन बन्ने गरेको तर त्यसबाट उचित लाभ लिन नसकेकोप्रति सचेत गराउँदै महिलाहरु समुहमा आबद्ध भएपछि सामुहिक रुपमा आयआर्जनका काममा सक्रिय हुन आग्रह पनि गरे । उनले सबैलाई समेटेर आयआर्जनको कार्ययोजना ल्याएमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
सिंहदरबारको अधिकार गाउँगाउँमा आउनै नदिएको गुनासो गर्दै अध्यक्ष मल्लले गाउँको अधिकार बाटोमै हराएको टिप्पणी गरे । स्थानीय तहका अधिकार संघ, प्रदेश र सुरक्षा निकायबाट दुरुपयोग र हस्तक्षेप हुने गरेको पनि उनले बताए । कर बढाउने भन्दा वातावरणीय प्रभाव नपर्ने र कुनैपनि बासिन्दालाई असर नपर्नेगरी स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर आम्दानी बढाएर विकास निर्माणका काम गर्ने योजना बनाएपनि प्रदेश सरकार र प्रहरीले अबरोध पु¥याउने काम गरेकोमा अध्यक्ष मल्लले चिन्ता ब्यक्त गरे ।
‘अन्यत्र चर्को कर उठाइएको छ स्थानीय तहमा तर हामीले जनतालाई चर्को कर होइन, कसैलाई पनि असर नगर्नेगरी स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दा आउने आम्दानी जनताकै आवश्यकतामा खर्च गरेर काम गर्ने प्रयास गर्दा अबरोध भइरहेको छ’ उनले भने । जलजला गाउँपालिका आन्तरिक स्रोतसाधनका साथै आलु, सुन्तला, जडीबुटीलगायतमा निकै नै सम्भावना भएको र गाउँपालिकाले त्यही सम्भावनालाई अधिकतम उपयोग गर्ने नीतिमा अगाडी बढेको पनि बताए ।
कार्यक्रममा जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्री, वडा नम्बर ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी, जिल्ला समन्वय समिति पर्वतका सदस्य यामबहादुर जिसी, नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति टिकाराम सुवेदी, जलजलाका सभापति चन्द्रबहादुर जिसी, काँग्रेस नेता गोबिन्द पौडेललगायतले बोलेका थिए । सुन्दरडाडा आमा समुहका अध्यक्ष शान्ति रेग्मीले नयाँ भवनमा समुहले आयआर्जनका गतिविधि अगाडी बढाउने जानकारी दिइन ।
स्थानीय अधिकारमा हस्तक्षेप भइरहेको छ : अध्यक्ष मल्ल



