पर्वत, चैत १३–राउण्ड अन्नपूर्ण क्षेत्रमा बिरेठाटी नाका भएर साउनयता साढे ४६ हजार पर्यटक घुमेर फर्केका छन् । गत जुलाईदेखि हालसम्म ४६ हजार पाँच सय ७३ जना पर्यटकले बिरेठाटी भएर राउण्ड अन्नपूर्णको भ्रमण गरेका हुन । भुकम्प र नाकाबन्दीले सुस्ताएको राउण्ड अन्नपूर्णको पर्यटनक्षेत्र पुनः जुर्मुराउन थालेको छ ।
अन्नपूर्ण पर्यटन चेक पोष्ट बिरेठाटीकाअनुसार भुकम्प र नाकाबन्दीले सुनसानजस्तै भएको अन्नपूर्णक्षेत्रमा पुनः पर्यटक बाक्लिन थालेका हुन । साउनयता ४६ हजार पाँच सय ७३ जना पर्यटकले बिरेठाटी भएर राउण्ड अन्नपूर्णको भ्रमण गरेको र यसले पर्यटनक्षेत्र बिस्तारै पुरानै लयमा फर्केको आभास गरेको चेकपोष्ट इन्चार्ज यमबहादुर गुरुङले बताए ।
‘भुकम्प र नाकाबन्दीले पर्यटनक्षेत्र नराम्ररी प्रभावित भयो, अहिले पुनः पर्यटनक्षेत्र जुर्मुराएको सन्देश दिएको छ’ गुरुङले भने । हालसम्मको तथ्यांक हेर्ने हो भने सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमा बिरेठाटी नाका भएर सबैभन्दा बढी पर्यटक आएका थिए । सन् २०१४ मा ५६ हजार दुई सय ७४ जनाले यहाँको भ्रमण गरेका थिए । सन् २००८ देखि २०१४ सम्म बर्षेनी हजारौ पर्यटक राउण्ड अन्नपूर्णमा बढिरहेका थिए । तर, सन् २०१५ मा यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन पुग्यो ।
२०१५ अप्रिल २५ (२०७२ बैशाख १२ ) र त्यसपछि गएका भुकम्पले नेपाल भ्रमण खतरा रहेको अन्तराष्ट्रिय क्षेत्रमा नराम्रो सन्देश प्रवाह भयो । त्यस्तै गरी नेपालमा भारतले लगाएको नाकाबन्दी पनि अर्को समस्या देखियो । नाकाबन्दीले पनि नेपाल असुरक्षित रहेको प्रचारले पर्यटक नेपालमा निकै कम भित्रिए ।
नेपाल आउने धेरै पर्यटकको रोजाईमा पर्ने राउण्ड धौलागिरीमा सन् २०१५ मा बिरेठाटी नाकाबाट जम्मा ३५ हजार नौ सय १८ जनाले मात्रै राउण्ड अन्नपूर्णको भ्रमण गरेका थिए । जबकी सन् २०१४ मा ५६ हजार दुई सय ७४ ले यहाँको भ्रमण गरेका थिए । सन् २०१६ मा बिरेठाटी नाका भएर राउण्ड अन्नपूर्णको भ्रमण गर्ने पर्यटक थप घटे ।
यो बर्ष ३१ हजार तीन सय ८२ ले भ्रमण गरेका थिए । २०१७ मा भने पर्यटनक्षेत्र बिस्तारै पुरानै लयमा फर्कन थालेको छ । ‘गत साउनदेखि हालसम्म ४६ हजार पर्यटक आउनु राउण्ड अन्नपूर्णमा बिस्तारै पर्यटकको आकर्षण बढेको सन्देश हो’ बिरेठाटी चेकपोष्टका इन्चार्ज गुरुङले भने ।
पर्यटक बिस्तारै बढेपनि होटल ब्यवसायी भने चिन्तित छन् । बिरेठाटी, रामदुवाली, स्याउलीबजार लगायतका होटल ब्यवसायी बिस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटकहरु पोखराबाट सिधै गाडीमा जाने भएका कारण पर्यटक बढेपनि होटल भने सुनसान छन् ।
पोखरा हुदै आउने बिदेशी पर्यटकहरु पनि नयाँपुल, बिरेठाटी, स्याउलीबजार, रामदुवालीमा रोकिदैनन् । सिधै गाडीमा घान्दु्रक र उल्लेरीसम्म पुग्दा बिचमा खोलिएका होटल, रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका हुन । ‘पैदल हिँड्ने पर्यटक निकै कम हुँदा विगतमा निकै राम्रो ब्यापार हुने होटल तथा रेष्टुरेन्ट अहिले सुनसान छन्’ गुरुङले भने ।