पर्वत, चैत १३–यहाँ क्षयरोगका ५६ जना बिरामी भेटिएका छन् । दुई जना बच्चासहित ५६ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पर्वतमा गतबर्ष एक सय जना क्षयरोगका बिरामी भेटिएपनि ८७ जना नियमित उपचारपछि रोगमुक्त भएका छन् । १३ जना सम्पर्कमा नआएको र त्यसमध्ये केहीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका क्षयकुष्ठ निरिक्षक जनार्दन गिरीले जानकारी दिए ।
‘क्षयरोग लागेका बिरामी नियमित उपचारले निको हुने भएपनि दर्ता भएका कतिपय बिरामी सम्पर्कमै नआउने गरेका छन्, यसले क्षयरोग अन्य मानिसमा समेत सर्दै जाने खतरा रहन्छ’ गिरीले भने–‘गतबर्ष क्षयरोग पत्ता लागेका केही बिरामीको मृत्युसमेत भएको छ ।’ क्षयरोग लागेका बिरामीले हेलचेक्राई गर्ने र नियमित औषधी सेवन नगर्दा यो रोगले मानिसको मृत्यु गराउने उनले जानकारी दिए ।
‘हेलचेक्राइ नगर्ने हो भने नियमित औषधी सेवन गर्ने हो भने क्षयरोग पूर्ण निको हुन्छ भन्ने सबैलाई जानकारी दिन आवश्यक छ’ जिल्ला जनस्वास्थ्य अधिकृत सजिना महर्जनले भनिन् । नयाँ पत्ता लागेका बिरामीमध्ये २१ महिला र दुई बालबालिका रहेका छन् । यसैगरी क्षयरोग लागेका बिरामीलाई पत्ता लगाउनका लागि पर्वतका सात मध्ये पाँच वटा स्थानीय तहमा उपकरण राखिएको छ ।
यता जलजला गाउँपालिका र मोदी गाउँपालिकामा क्षयरोग परिक्षण गर्न आवश्यक माइक्रोस्कपी सेन्टर नहुँदा समस्या रहेको छ । ‘अहिलेसम्म जलजला र मोदी गाउँपालिकामा क्षयरोग पत्ता लगाउने माइक्रोस्कपी सेन्टर छैन’ क्षय कुष्ठ निरिक्षक गिरीले भने–‘जलजलाले प्रक्रिया थालेको छ, मोदी गाउँपालिकालाई पनि माइक्रोस्कपी सेन्टर राख्न सुझाब दिएका छौ ।’
माइक्रोस्कपी सबैको पहुँचमा भएमा रोग छिटो पत्ता लाग्ने र यो रोग अन्य मानिसलाई सर्नबाट रोकिने भनाई गिरीले राखे । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । त्यस्तै शरिरका विभिन्न भागमा समेत क्षयरोगका असर देखिने गरेका छन् । ‘क्षयरोग एक सरुवा रोग भएको र हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ’ गिरी भन्छन्–‘जतिसक्दो यो रोग पत्ता लागेपछि छिटो उपचार गर्नुपर्छ ।’
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण भएको गिरीले बताए । जनस्वाथ्य अधिकृत सजिना महर्जनले विशेषगरी ग्रामिण भेगका महिलाले क्षयरोग लुकाएर राख्ने गरेको पाएको बताइन् । ‘ग्रामिण भेगका महिलाहरु रोग लागेको भन्न डराएर, लाज मानेर पनि लुकाएर बस्ने गरेका छन्, यसले महिलाको मृत्युसम्म गराउने गरेको छ’ उनले भनिन् ।
अस्पतालको सम्पर्कमा आएका बिरामीमध्ये पुरुष सबैभन्दा बढी पाइने गरेको छ । तरपनि क्षयरोगबाट मर्ने मध्ये महिला बढी रहेका छन् । ‘महिला भन्दा पुरुषले गम्भिर भएर नियमित औषधी सेवन गर्ने गरेका छन, महिलाले सकभर कसैलाई नभन्ने र अस्पतालसम्म आएपनि औषधी नियमित नखाने समस्या छ’ महर्जनले भनिन् ।
हरेक बर्ष ४४ हजार नयाँ बिरामी भेटिने तथ्यांक रहेको नेपालमा पाँचदेखि सात हजार मानिसको बर्षेनी मृत्यु हुने गरेको छ । हाल नेपालमा ८० हजार क्षयरोगका बिरामी रहेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा क्षयरोगमुक्त गराउने लक्ष्य लिएको छ । यो रोगका बिरामीलाई औषधी निशुल्क रुपमा बितरण हुँदै आएको छ ।