spot_img

नेपालकै अग्लो पुलमा मोटरसाइकल तार्न खुल्ला


पर्वत, फागुन २३–यहाँ रहेका नेपालकै अग्लो पुलहरुमा मोटरसाइकल आवतजावत गर्न खुल्ला गरिएको छ । जिल्ला प्रशासनमा बसेको बैठकले एक पटकमा एउटा मात्रै मोटरसाइकल आवतजावत गर्न दिने निर्णय गरेको हो । यसअघि मोटरसाइकल आवतजावत गर्दा कुश्मा–मुडिकुवा झोलुङ्गे पुलमा यात्रु सामान्य घाइते भएको र दुबैतर्फबाट मोटरसाइकल ल्याउँदा बिचमा झगडा परेकोे भन्दै पुलमा आवतजावतमा प्रशासनले रोक लगाएको थियो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्माण उपभोक्ता समिति र सर्बसाधारणको मागअनुसार प्राविधिक हिसाबले पुल खतरामा रहेको प्रतिवेदन नआउदासम्म मोटरसाइकल तार्न खुल्ला गरिएको जानकारी दिए । ‘एक पटकमा एउटा मात्रै मोटरसाइकल लैजान पाइँन्छ, यदि कसैले अटेर गरेर दुई वा त्यो भन्दा बढी मोटरसाइकल पुलमा हालेमा पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा चलाइन्छ’ उनले भने ।
पुलबाट मोटरसाइकल आवतजावत गर्दा सदरमुकाम कुश्माबाट पर्वतको दक्षिणतर्फ जानका लागि आधा घण्टा छोटो पर्छ । यसअघि दुबैतर्फबाट मोटरसाइकल ल्याउने र बिचमा आएपछि दुईपक्षबिच झगडा भएपछि प्रहरी प्रशासनले कुश्मा–मुडिकुवा पुलमा मोटरसाइकल आवतजावतमा रोक लगाएको थियो । कुश्मा–कैया पुलमा भने यसअघि पनि मोटरसाइकल निरन्तर तार्दै आएका छन् ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण तिवारीले पुलमा मोटरसाइकल रोक लगाउदा फलेबास नगरपालिका, महाशिला, पैंयूँ र बिहादी गाउँपालिकाका बासिन्दा आधा घण्टाबढी दुरी बढी पार गर्नुपर्ने अवस्था आएको बताए । ‘यात्रुहरुको चाप कम भएको समय मिलाएर पुलमा मोटरसाइकल तार्न दिनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने–‘प्रशासनमा सुरक्षा निकायका प्रमुख र जिल्ला समन्वय समितिका प्रतिनिधिसँगको छलफलपछि तत्कालका लागि पुलमा मोटरसाइकल खोल्ने निर्णय गरेका छौ ।’
कुश्मा–मुडिकुवा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका सदस्य जगत सापकोटाले मोदीबेनीमा मोदीखोलामाथि पक्की पुल निर्माण भइरहेको र त्यो पुल निर्माण सम्पन्न नहुँदासम्म झोलुङ्गे पुलबाट मोटरसाइकल तार्ने निर्णय भएको जानकारी दिए । ‘कम्तीमा पनि डेढ÷दुई बर्षमा मोदीबेनीमा पक्की पुल निर्माण भइसक्छ, त्यतिबेलासम्मका लागि मोटरसाइकल तार्ने निर्णय गरेका छौ’ उनले भने–‘यदि पुलका प्राविधिकहरुले मोटरसाइकल तार्नै हुँदैन भनेर रिपोर्ट दिएमा भने पुनः मोटरसाइकल तार्न रोक लाग्नेछ ।’ मोदीबेनीमा कालीगण्डकी लोकमार्ग अन्र्तगत पक्की पुल निर्माण भइरहेको छ ।
सापकोटाले नगरपालिकासँगको समन्वयमा उपभोक्ता समितिले पुलमा एकजना मान्छे खटाउने र एक पटकमा एउटा मात्रै मोटरसाइकल तार्ने ब्यवस्थाका लागि पहल गर्ने पनि बताए । प्रमुख जिल्ला अधिकारी पन्थीले नेपालका अग्ला पुलमा दैनिक सयौ मान्छे ओहोरदोहोर गर्ने र त्यत्तिकै मात्रामा अवलोकनका लागि आउने भएका कारण तत्काल सिसिटिभी राख्नुपर्ने भएको बताए ।
‘ओहोरदोहोरसँगै सयौ पर्यटक नेपालका अग्ला पुलको अवलोकनका लागि आउने गरेका छन्, उनीहरुको निगरानी र पुलमा हुने सम्भावित अपराध रोक्न पनि सिसिटिभी राख्नुपर्ने अवस्था छ’ उनले भने । उनले नेपालका अग्ला पुलमा दर्जनबढीले आत्महत्या गरिसकेको र त्यो आत्महत्या हो वा होइन भन्ने बिषयमा अनुसन्धानका लागि समेत सिसिटिभि अनिवार्य भएको पन्थीको भनाई छ ।
‘अग्ला पुलमा हामफालेर आत्महत्या गरेको भनिएको छ, त्यो आत्महत्या हो वा हत्या हो भन्ने कुरा प्रहरीलाई पत्ता लगाउन सिसिटिभीले राम्रो सघाउ पु¥याउनेछ’ प्रजिअ पन्थीले भने । उनले सिसिटिभीको ब्यवस्था मिलाउन कुश्मा नगरपालिकालाई आग्रह गरिएको पनि जानकारी दिए ।
पर्वतमा अहिले कुश्मा–मुडिकुवा, कुश्मा–कैया, कुश्मा–ज्ञादी गरी तीन वटा अग्ला झोलुङ्गे पुल रहेका छन भने उत्तिकै अग्लो केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनमा छ । त्यसैगरी कुश्मादेखि बागलुङको बलेवा जोड्ने बञ्जीजम्प सञ्चालन गर्नेगरी कुश्मा–बलेवा पुल र खरेहा–ज्ञादी पुल निर्माणाधिन छन् । यी दुई वटा पुल निर्माणपछि कुश्मासँग जोड्ने अग्ला पुलको संख्या छ पुग्नेछ ।

spot_img

भर्खरै