spot_img

म हारेपनि पर्वतलाई पराजित हुन दिन्न ः जोशी


पर्वत, मंसिर २४–पर्वत जिल्लाको राजनीतिमा अपराजित नेता भनेर चिनिने काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपनि काँग्रेस कार्यकर्ताको मनोबल हार्न नदिने बताएका छन् । उनले जिल्लाको आर्थिक विकास र समृद्धिलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचनको मतपरिणाम सार्वजनिकपछि पत्रकारहरुसँग कुरा गर्दै जोशीले राजनीतिमा जितहार स्वभाविक भएको बताए ।

‘दुई प्रमुख शक्तिसँग एक्लै लड्नु अवश्य पनि चुनौति थियो, राजनीतिमा हारजित स्वभाविक हो’ उनले भने–‘हिजोजस्तै भोलिपनि जिल्लाको विकास र समृद्धिको अभियानमा कुनै कसर राख्दिन ।’ उनले पर्वतबाट निर्वाचित भएका तिनैजना उम्मेदवारलाई बधाई दिदै आफुले पर्वतमा सुरु गरेको विकास र समृद्धिलाई पुरा गर्न आग्रह गरेका छन् । उनले आफु पराजित भएपनि जितेका प्रतिनिधिसँग सहकार्य गरेर पर्वतको विकास र समृद्धिमा निरन्तर लाग्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रत्येक वडा तहबाट निर्वाचनको समीक्षा गर्ने,  पार्टीभित्रको असन्तुष्टि र अन्तरघातको पहिचान गर्ने र पार्टीलाई नयाँ सोंच र शैलीका साथ अघि बढाउने उनले बताए । उनले पर्वतमा काँग्रेस पराजित हुनुको प्रमुख कारण दुई प्रमुख राजनीतिक शक्तिको चुनावी तालमेल, जनतामा सपनाको उधारो व्यापार र अथाह पैसाको चलखेल रहेको दावी गरे । जोशीले विगत १८ बर्षमा पर्वतमा आफूले धेरै विकास गरेर पनि गरेका कामको प्रचारप्रसार गर्न नसक्नु पनि पराजयको कारण रहेको विश्लेषण गरे । ‘मैले विगतमा जिल्लाको बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र जनताको आयआर्जनमा धेरै काम गरेँ तरपनि कामको प्रचारमा वास्ता गरिन तर आज जनतामा विकासको उधारो कारोवार गर्नेहरुले वाजी मारे’ उनले भने ।

उनले निर्वाचनमा सहभागी हुने आम मतदाता, निर्वाचन सफल बनाउने निर्वाचन आयोग, सुरक्षा निकाय, स्थानीय प्रशासन, नागरिक समाज, पत्रकार र सबै शुभचिन्तकहरुलाई कृतज्ञता व्यक्त गरेका छन् । जोशीले २०५६ सालमा संसदीय निर्वाचन, २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट निरन्तर चुनाव जित्दै आएका थिए ।

spot_img

भर्खरै