कायरो, मंसिर ९ (न्यूयोर्क टाइम्स) इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो।
सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए। पछिल्लो समय इस्लामिक स्टेट (आइएस) ले इजिप्टका क्रिश्चियन चर्च तथा सुरक्षा अधिकारीहरूमाथि हमला गर्दै आएका छन्। मस्जिदमै हमला हुनु भने विरल घटना हो। राजधानी कायरोबाट २ सय किलोमिटर उत्तरपूर्व बीरअल–अब्द सहरको मस्जिदमा भएको हमलाले देशभरि आतंक फैलिएको छ।
इजिप्टको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणकारीहरू चारपांग्रे गाडीमा आएका थिए। तिनले सुरुमा मस्जिदभित्र बम विस्फोट गराए। त्यसपछि शुक्रबारको प्रार्थना निम्ति भेला भएका भक्तजनमाथि अन्धाधुन्ध गोली प्रहार गरे। यो हमलामा आत्मघाती बम विस्फोटकसमेत संलग्न रहेको एक सैनिक अधिकारीले बताएका छन्।

आकस्मिक टोली घाइतेहरूको उपचार निम्ति आउँदा पनि हतियारधारी आतंककारीहरू घटनास्थलमा घुमिरहेका थिए। तिनले केही एम्बुलेन्समाथि गोली पनि हानेको वरिष्ठ सरकारी स्वास्थ्य अधिकारी अहमद अल–अन्सारीले सरकारी टेलिभिजनलाई बताएका छन्।
सुफी मस्जिदमा भेला भएका भक्तालु सुफी इस्लाम धर्मावलम्बी हुन्। केही परम्परावादी मुस्लिम र सुन्नी अतिवादीहरू यसका विरोधी मानिन्छन्। केही महिनाअघि इस्लामिक स्टेटले बीरअल–अब्दकै केही सुफी मुसलमानलाई ज्यान मार्ने धम्की दिनुका साथै केहीको हत्यासमेत गरेको थियो। यो समूहले अहिलेसम्म मस्जिदमै हमला भने गरेको थिएन।
घटनालगत्तै राष्ट्रपति अबदल फत्तह अल–सिसीले उच्च सुरक्षा अधिकारी, गृह तथा रक्षामन्त्री र खुफिया एजेन्सी प्रमुखको आकस्मिक बैठक डाकेका छन्। उनले तीन दिन शोक मनाउने घोषणा पनि गरेका छन्।