spot_img

टिकट हात पार्न नेताहरु राजधानीतिर

पर्वत, असोज २५–दलका अधिकांश नेताहरु राजधानी हानिएका छन् । आ–आफ्नो दलबाट टिकट हात पार्न नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओबादी केन्द्रगरी मुख्य दलका नेताहरु राजधानी काठमाडौ गएका हुन । काँग्रेस र एमालेले केन्द्रले तोकेअनुसार सिफारिस गर्न असफल भएपछि सबै आकांक्षीको नाम माथिल्लो निकायमा पठाएको थियो ।
जिल्लाबाट नाम गएसँगै आकांक्षीहरु काठमाडौ पुगेका छन् । ती दलनिकटस्रोतका अनुसार उनीहरुले सामुहिक र ब्यक्तिगत रुपमा नेताहरुलाई भेट्ने क्रमलाई तिब्रता दिएका छन् । ‘मुख्य नेतालाई प्रभाव देखाउन सामुहिक रुपमा पनि भेटेका छौ, ब्यक्तिगत सम्बन्धको हिसाबले छुट्टै भेट्ने कुरा पनि भइहाल्यो’ काठमाडौ पुगेका काँग्रेसका एक नेताले भने ।
पर्वतमा माओबादी केन्द्रसहित अन्य पार्टीहरु कमजोर अवस्थामा रहेका कारण पनि काँग्रेस र एमालेमा टिकट हातपार्न चलखेल बढ्दो छ । जिल्लास्तरीय नेताले केन्द्रीय नेतालाई भेटेर आफ्नो गुटमा भएको आश्वस्त पार्दै टिकट दिएमा जित सुरक्षित हुने दाबी पेश गर्न थालेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य एवम् साँसद अर्जुनप्रसाद जोशी, पूर्वसाँसद ऋषिकेश तिवारी, जिल्ला सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति लालकाजी गुरुङ, नवराज गुरुङ, उपसभापति दुर्गाबहादुर खत्री क्षेत्री, सचिव युक्तप्रसाद श्रेष्ठ, महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, राधाकुमारी कुँवर क्षेत्री, मिना केसी, बसन्तबहादुर सिके, भवानीशंकर पौडेल, महाधिवेशन प्रतिनिधि बिद्धान गुरुङ, राजेन्द्र तिवारी, नेताहरु राम शर्मा पौडेल, कृष्णबहादुर खत्री क्षेत्री, बिप्लब हमाल राजधानीमा सक्रिय छन् ।
त्यसैगरी नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना, सांसद विकास लम्साल, कल्पना चापागाई, जिल्ला अध्यक्ष पदम गिरी, अनुशासन आयोगका केन्द्रीय सदस्य गणेशप्रसाद पौडेल, नेता मोती पौडेल, भक्त कुँवर, सुन्दर भुसालसहितका नेताहरु टिकटका लागि काठमाडौ पुगेका छन् ।
नेकपा माओबादी केन्द्रका नेताहरु जिल्लामा कमजोर रहेपनि एमालेसँगको तालमेलपछि टिकट हातपार्न पछिल्लो समय लागेका छन् । प्रतिनिधिसभामा माओबादी केन्द्रले नेत्र अधिकारीलाई सर्बसम्मत सिफारिस गरेको छ । प्रदेशसभातर्फ पर्वत क मा केशव कुँवर, दिपक आचार्य, ढाकाराम गौतम, पर्वत ख मा ऋषिराम भुसाल, गगनबहादुर थापालगायतको सिफारिस छ । माओबादी केन्द्रले राजधानीमा भेला गरी पार्टीको सुदृढिकरण गरी लाग्ने निर्णय गरेको छ । माओबादी केन्द्रका अधिकांश जिल्ला नेता पनि राजधानीमा छन् ।
एउटा मात्रै क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसबाट केन्द्रीय सदस्य एवम् साँसद अर्जुनप्रसाद जोशीको बलियो सम्भावना छ । ०५६ सालको प्रतिनिधिसभा, ०६४ र ०७० सालको संविधानसभा गरी तीन वटै चुनाव पर्वत–१ बाट जितेका उनलाई काँग्रेसका अधिकांश कार्यकर्ताले प्रतिनिधिसभा प्रत्यक्षमा उठ्न दबाब दिएका छन् ।
उनले चाहेको अवस्थामा सहजै टिकट ल्याउनेछन् । उनले प्रदेश मुख्यमन्त्रीमा चाहना गरेका छन् । पार्टीको तर्फबाट मुख्यमन्त्री आउने परिस्थितिमा पक्कापक्की भएमा जोशी प्रदेशसभामा पर्वत क बाट टिकट ल्याउने पक्का छ ।
एमालेबाट सांसद विकास लम्सालले प्रतिनिधिसभामा तिब्र इच्छा देखाएका छन् । दुई पटक पार्टीको जिल्ला अध्यक्ष भइसकेको २०७० सालको निर्वाचन जितेका कारण उनको बलियो सम्भावना रहेकोले उनको बलियो सम्भावना छ । यद्यपी अनुशासन आयोग सदस्य गणेशप्रसाद पौडेलले यसपटक आफुले टिकट पाउनैपर्ने अडानमा छन् ।
माओबादी केन्द्रका नेता अधिकारीले प्रतिनिधिसभामा सिफारिस भएपनि गठबन्धनबाट पर्वत क क्षेत्रमा टिकट ल्याउन अन्तिम प्रयास गरिरहेको बुझिएको छ । उनले टिकट ल्याउने सम्भावना बढेपछि एमालेका नेता कार्यकर्ता निराश भएका छन् । उता एमाले नेता गणेश तिमिल्सिनाले पर्वत क बाट माओबादी केन्द्रलाई दिनुपर्ने बाध्यता हुदैगर्दा पर्वत ख क्षेत्रबाट भएपनि टिकटमा दाबी प्रस्तुत गरेका छन् । पहिले मौन रहेका तिमिल्सिनाले माओबादी केन्द्रसँग तालमेलपछि प्रदेश नम्बर ४ को मुख्यमन्त्री ताक्दै प्रदेशसभाको टिकटको दौडमा छन् ।
आफ्नै राजनीतिक गुरु भएपनि जिल्ला अध्यक्ष पदम गिरीले तिमिल्सिनालाई तर्काएर आफै टिकट ल्याउने ध्याउन्नमा लागेका छन् । एउटै गुटमा रहेपनि टिकटको बिषयले तिमिल्सिना र गिरीबिच चिसोपना बढेको छ । एमालेले प्रदेशसभामा कम्तीमा पनि एक क्षेत्र माओबादी केन्द्रलाई छाड्नुपर्ने परिस्थिति बन्दा टिकटमा तिब्र प्रतिष्पर्धा हुने देखिन्छ ।

spot_img

भर्खरै