spot_img

नगर प्रमुख जोशी भन्छन–‘काम गर्नै नदिने विकास बिरोधी रणनीति देखियो’


कुश्मा नगरपालिका घोषणाको चर्चा हुँदै गर्दा मेयरको रुपमा चिनिएका नेता हुन रामचन्द्र जोशी । गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट कुश्मा नगरपालिकाको पहिलो नगर प्रमुख (मेयर)मा निर्वाचित भएका छन् उनले पाँच बर्षको अवधिमा कुश्मालाई समृद्ध नगरका रुपमा विकास गर्ने दाबी गरेका छन् । तर, बहुमतको नाममा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले काम गर्न पटक–पटक अबरोध पु¥याएका छन् । उनीहरुकै कारण कुश्मा नगरपालिकाले आर्थिक बर्ष ०७४÷७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समेत गर्न सकेको छैन । प्रस्तुत छ, नगर प्रमुख जोशीसँग नगरको विकास र समृद्धिमा केन्द्रित रहेर गरिएको कुराकानी ।

निर्वाचित भएपछि के के काम गर्नुभयो ?
नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो बैठकबाट नगरपालिकाभित्रका मुख्य–मुख्य चोकमा सौर्यबत्ती राख्ने निर्णय गराए । त्यसको काम भइरहेको छ । विशेषगरी बजारीक क्षेत्रमा सौर्यबत्ती अत्यावश्यक छ । बिद्युत नभएको समयमा यसले शान्ति सुरक्षा, चोरी, लुटपाटका घटनाबाट रोक्न सहज बनाउछ । सौर्यबत्तीलाई बिस्तार गर्दै लगिनेछ । कुश्मा नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा विकासको दुष्टिले अगाडी छ । तर पनि यहाँ अहिले पनि एक घर एक घारा भएको अवस्था छैन । एक घर एक धारा अभियान पनि पहिलो बैठकमै निर्णय गरेर अगाडी बढाएको छु । अर्को कुरा म नगरमा निर्वाचित भएर आइसकेपछाडी हरेक वडा कार्यालय खोल्ने काम गरेको छु । वडाको कामका लागि घण्टौ लगाएर सेवाग्राही नगरपालिका कार्यालय नै आउनुपर्ने समस्यालाई ध्यानमा राखेर वडा–वडामा कार्यालय सञ्चालनमा ल्याउने काम गर्न सफल भए । सदरमुकाम वरपर पक्की सडक बिग्रेर खाल्डाखुल्डी भएका थिए, त्यो मर्मत गराएको छु । नगरपालिकामा हुने दैनिक कामबाहेक अन्य काम सोचेअनुरुप गर्न पाएको छैन् ।

काम गर्न किन अबरोध ?
नगरपालिकामा म निर्वाचित भएपछि जनताले धेरै आशा र अपेक्षा गरेका छन् । कुश्मा नगरपालिका स्थापना नहुदै मलाई नगरबासीले भाबी मेयरका रुपमा हेरेका थिए । यो बिजय पनि त्यसैको कडीको रुपमा लिएको छु । चुनाव अगाडी जे सोचेको थिए, निर्वाचित भएपछि त्यो भएन् । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिमध्ये म अल्पमतमा परे । अहिलेसम्म नगरको बजेट ल्याउन सकिएको छैन । अन्य सबै स्थानीय तहमा बजेट आइसक्यो । बजेट कार्यान्वयन चरणमा ती स्थानीय तह रहेका छन् । म नेपाली काँग्रेसबाट निर्वाचित भए । तर नगर कार्यपालिका र नगर सभामा नेकपा एमालेको बहुमत आयो । त्यसैले पनि उहाँहरुले सहज रुपमा काम गर्न दिनुभएन । मन्त्रालयले पठाएको नमुना कानुन समयमा पारित गर्न दिनुभएन । कानुन पारित नहुदा बजेट, नीति तथा कार्यक्रम ल्याउन सकिएन ।

बजेट, नीति तथा कार्यक्रम आउन नसक्नुको मुख्य कारण ?
अधिकांश स्थानीय तहमा मन्त्रालयले नै पठाएको नमुना कानुन नै पारित भएको छ । मन्त्रालयले पहिलो पटक स्थानीय तहलाई सहज बनाउनका लागि पनि नमुना कानुन बनाएर पठाएको होला । छुट्टै कानुन बनाउन लामो समय खर्चदा अन्य काममा ढिलाई पनि हुनसक्छ भन्ने हिसाबले सबै कुराको सोचबिचार गरेर नै मन्त्रालयले नमुना कानुन पठाएको होला । पर्वतका सात वटा स्थानीय तहमध्ये छ वटा तहमा हुबहु त्यो पास गरियो । तर, कुश्मा नगरपालिकामा त्यो पास गर्न दिइएन् । कुश्मा नगरपालिकामा एमालेबाट निर्वाचित साथीहरुले नगर प्रमुखको हात बाँध्ने प्रयत्न गर्नुभयो । नगर प्रमुखसँग जनताका धेरै अपेक्षाहरु छन् । ती अपेक्षालाई पुरा गर्नका लागि अधिकार बिहिन बनाउनु त भएन नी । मन्त्रालयले नमुना कानुन पठाएपनि जिल्लाका अन्य सबै नगरपालिका र गाउँपालिकामा हुबहु पारित भएको छ । तर, कुश्मा नगरपालिकामा प्रमुखलाई कुनै पनि अधिकार नदिने अडान लिएकै कारण कानुन आउन नसकेको हो । कानुन पारित नहुँदा समयमा बजेट, नीति तथा कार्यक्रम ल्याउन सकिएन् । विकास निर्माणको काम ठप्प भयो । कर्मचारीले तलबभत्ता समयमा पाउन सकेनन् । नगरपालिकाको दैनिक प्रशासनिक काम गर्नै गाह्रो भयो । यो अवस्थालाई गम्भिर बन्नुपर्छ भनेर गाठो फुकाउने काम ग¥यौ । कानुन पारित ग¥यौ । तर अहिले बजेट, नीति तथा कार्यक्रम ल्याउन फेरी अबरोध पु¥याउनुभएको छ । मैले नगरको हित र विकासलाई केन्द्रबिन्दुमा राखेर, नगरलाई छिटो समृद्ध बनाउने दिशामा अग्रसर बनाउनका लागि ठुला योजनाको प्रस्ताव गरे । तर नेकपा एमालेबाट निर्वाचित भएर आउनुभएका वडा अध्यक्षले वडामा टुक्रे योजनामा बजेट बिनियोजन गर्नुपर्ने अडान छाड्नुभएको छैन । मेरो कुरा के हो भने लामो समयदेखि सडक पक्की हुन सकिरहेका छैनन् । कम्तीमा पनि कुश्मा नगरपालिकाले आफ्नो कार्यालयदेखि वडा कार्यालय जोडिने हरेक सडकलाई ठुलो रकम बजेट बिनियोजन ग¥यौ, अत्यावश्यक बाहेक टुक्रे योजनामा बजेट बन्द गरौ, पाँच बर्षको अवधिमा नगरपालिकाको देखिनेगरी विकास गरौ भन्ने मेरो योजनाको बिपक्षमा गएर उहाँहरुले नगरसभा नै गर्न दिनुभएन् । असोज ४ गतेका लागि तोकिएको नगर सभा उहाँहरुकै कारण रोकिएको छ ।

अब के गर्नुहुन्छ ?
अहिलेको स्थानीय तह भनेको स्थानीय सरकार हो । केन्द्रीय सरकारमा प्रधानमन्त्री सर्बेसर्वा भएजस्तै साच्चिकै नगरको काम गर्ने हो भने प्रमुखलाई पनि स्थानीय सरकारको अधिकार दिनुप¥यो । अल्पमत र बहुमत भन्दा पनि जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएको प्रमुखको हातखुट्टा बाध्ने प्रयास गरियो भने कुनै काम नै हुन सक्दैन । नगर प्रमुखले केही निर्णय नै गर्नसक्दैन । म जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आएको नगर प्रमुख हुँ । मैले पाँच बर्षमा कुश्मा नगरपालिकामा यो, यो परिवर्तन ल्याउछु भनेर आएको छु । तर नगर प्रमुखले राम्रो काम गर्छ की, उ जनतामा अझै लोकप्रियता हुन्छ की भनेर लाग्नुभएको छ त्यो गलत हो । अब नेपाली काँग्रेसबाट निर्वाचित भएपनि म अहिले कुश्मा नगरपालिकाको प्रमुख हु । सबैको साझा हुँ । मैले कसैलाई विचार र राजनीतिक रुपमा पूर्वाग्रह राखेको छैन र राख्दिन पनि । एमालेबाट निर्वाचित साथीहरुले कुनै काम नै गर्न नदिने रणनीति बनाउन थालेपछि जनतामा जानुको बिकल्प छैन । यस्तै अबरोध गर्दै जाने हो र कुश्माको विकास गर्नै नदिने नियत हो भने सबै जनतालाई उहाँहरुको भूमिका जानकारी गराउनुको बिकल्प रहदैन । विकास बिरोधीलाई नगरबासीले नै ठाउँमा ल्याउछन् ।

तपाईंका प्राथमिकता के हुनेछन् ?
सदरमुकाम भएर पनि अझै स्तरीय सडक, विद्युत र खानेपानीको पहु“च सहज रुपमा सबैका घरघरमा पुग्न सकेको छैन । धेरै ग्रामिण क्षेत्रमा खानेपानीको समस्या छ । काठका पोलले जोखिम बढाएको छ । मैले बिशेषघरि एक घर एक धाराको अवधारणा ल्याएको छु । सडकलाई स्तरीय बनाउन लाग्नेछु । यो पाँच बर्षे कार्यकालभित्रै हरेक वडा कार्यालयसम्म पक्की सडक पु¥याउने मेरो योजना रहेको छ । विकासको मुख्य माग भनेकै अहिले सडक रहेको छ । अहिले रहेका सडकहरु बर्षातको समयमा कम मात्रामा चल्छन् । बाह्रै महिना सवारी चल्ने सडक बनाउने मेरो प्राथमिकता रहन्छ । शिक्षा क्षेत्रको गुणस्तर खस्कदै गएको छ । पहिलो विकास भनेकै शैक्षिक विकास हो । शैक्षिक विकासका लागि भौतिक संरचनामा पूर्ण बनाउने, शिक्षकहरुलाई तालिम, सीप दिएर दक्ष बनाउन लाग्नेछु । स्वास्थ्य, खानेपानी, युवा, बृद्धबृद्धा, बिपन्न परिवारको समस्या बुझेर सक्दो समाधान गर्ने मेरा प्राथमिकता हुन् ।

कुश्मालाई समृद्ध शहर बनाउने तपाईको परिकल्पना के हो ?
कुश्मा चिनाउन धेरै टाढा जानुपर्दैन । मुलुककै अग्ला पुलको शहरका रुपमा कुश्मा चिनिएकै छ । कुश्मामा पर्यटकीय माध्यमबाट धेरै विकास गर्न सकिन्छ । अग्ला पुलसँगै चर्चित गुफाहरु यहि छन् । कालीगण्डकी नदीमाथि बञ्जीजम्प निर्माणको क्रममा छ । कालीगण्डकी राजमार्ग निर्माणाधिन छ । कुश्मा धौलागिरीकै प्रवेशद्धार पनि हो । मुस्ताङसम्म जाने पर्यटकलाई कम्तीमा पनि एक रात कुश्मामा राख्ने ब्यवस्था मिलाउन जरुरी छ । अहिले मुस्ताङ जाने अधिकांश पर्यटकहरु कुश्मा झरेर अग्ला पुलसहित यहाँका पर्यटकीय क्षेत्रको अवलोकन गरेर फर्कने गरेका छन् । यो सकारात्मक पाटो हो । स्थानीय, राष्ट्रिय तथा बिदेशी लगानीलाई कुश्मामा भित्राउन पहल गर्ने, उर्जा, पर्यटन, कृषिका साथै उत्पादनमुलक उद्योग र नयाँ प्रविधि एवम् ब्यापारयोग्य सेवाहरुमा आकर्षित योजना ल्याउनेछु । कुश्मा नगर बलियो नगर, निजी उद्यम र विधिको शासनको प्रत्याभूति नभई सिंगो नगरको समृद्धिको कल्पना गर्न नसकिने अठोटका साथ स्थानीय वडामा उद्यमशिलताको लहर ल्याउन युवाहरुको सीप विकास गर्दै कृषि, उर्जा, साना तथा मझौला उद्योगहरु र पर्यटकीय गतिविधिहरुको विस्तारका लागि म क्रियाशिल छु । उन्नत बीउ, कजा, बीमा, बैकल्पिक उर्जा, साना जलबिद्युत र सिंचाईका आयोजनाहरुमार्फत उत्पादकत्व बढाउने, बैदेशिक रोजगारबाट फर्केका तथा जान तयार युवालाई सीप दक्षता, पुजी र विप्रेसण आयलाई उत्पादनाुलक प्रयोजनमा लगानी गर्ने कुश्मामा उत्पादकत्व बढाएर समृद्धि गराउने मेरो परिकल्पना रहेको छ ।

नगरका प्रमुख स्रोतहरु के के हुन ?
जिल्लाकै सम्पन्न नगरमा पर्ने भएकोले यहा“ स्रोतको कमी छैन । विद्युत रोयल्टी राम्रो छ । त्यससंगै कालीगण्डकी र मोदीखोलाको नदीजन्य पदार्थको ठेक्काबाट पनि राजस्व राम्रै संकलन हुन्छ । त्यससंगै नगरपालिकाले शुरु गरेको एकिकृत सम्पती करबाट पनि राजस्व राम्रै संकलन हुन्छ । त्यसबाहेक केन्द्रको आम्दानीले पनि सहयोग गर्छ । पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउनसके पर्यटन राजस्वबाट राम्रो फाइदा लिन सकिने सम्भावना रहेको छ आर्थिक पारदर्शिता विकासको पहिलो शर्त हो । त्यसलाई बढी फोकस गर्नेछु । नगरपालिकालाई बिचमा पारेर बगेको मोदीखोला मुख्य स्रोत हो । जहा“ सात वटा जलविद्युत दर्ता छन् । तीन वटा कुश्मा नगरपालिकाभित्र पर्छ । त्यसबाहेक कालीगण्डकी नदी, पर्यटकिय क्षेत्र, कृषि, जडिबुटी लगायत नै नगरका मुख्य स्रोत हुन् । मालपोत, एकिकृत सम्पतीकर र विद्युत रोयल्टी मुख्य आर्थिक स्रोत हो ।

युवा लक्षित कार्यक्रम के हुन् ?
खेतीयोग्य जमिनहरु बाझिदै गएको छ । खेती गर्ने किसानहरुको संख्यामा कमी हुदैछ । त्यसैले पनि युवालाई कृषिमा प्रोत्साहन र आकर्षण गर्न आवश्यक छ । कृषिलाई ब्यावसायिक र आधुनिकिकरण गर्दै लैजानुपर्ने छ । निर्वाहमुखी खेती प्रणाली नै जमिन बाझिनुको मुख्य कारण हो । जबसम्म युवालाई कृषिमा आकर्षित गराइदैन कृषि उत्पादनमा बृद्धि गरी कृषिमा आत्मनिर्भर हुन पनि सकिदैन । युवालक्षित कार्यक्रम अन्तर्गत उत्पादनमा जोड दिने हो । युवाका हातमा भएको सीप नगरभित्रै लगाएर त्यसको फाइदा सबै नगरबासीले लिने खालको वातावरण बनाउने मेरा कार्यक्रम रहनेछज् ।

नगरको मुख्य चुनौती के के हुन ?
नगरबासीका आशा र अपेक्षा धेरै छन् । भन्नेबित्तिकै सबै काम एकैपटक गर्न सकिने अवस्था छैन । मुख्य कुरा बजेटकै अभाब हो । सरकारले स्थानीय तहमा जुन बजेट पठाएको छ, त्यो अत्यन्त न्युन छ । जिल्लामा हिजो जति बजेट भित्रिन्थ्यो त्यो पर्वतका सात वटै स्थानीय तहमा जोडेपनि बजेट आएको छैन । वडा–वडाबाट योजनाको चाङ लागेको छ । सबैलाई तत्काल र अहिले नै योजनामा बजेट चाहिएको छ । सबैका मागलाई अहिले नै समाधान गर्न नसक्नु अहिलेको मुख्य चुनौतिका रुपमा लिएको छु । अर्को कुरा योजनामा गएको सही रुपमा खर्च नहुने चुनौती पनि छ । विगतमा त्यस्ता गुनासा आइरहन्थे । त्यो यसपटक अन्त्य गर्नतर्फ केन्द्रीत हुन्छु ।

योजनामा बिनियोजित रकम सही रुपमा खर्च हुने आधार के ?
म बिद्यार्थी राजनीति गर्दै यहाँसम्म आएको छु । अहिलेसम्म कोही कतै एक रुपैयाँ पनि अनियमिता र गलत कामबाट लिएको छैन । म जुन दिनसम्म पदमा रहन्छु, त्यो दिनसम्म नगरबासीले भ्रष्टाचार गरेको सुन्नुपर्ने छैन । मैले एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन र कसैलाई गर्न पनि दिन्न । कुश्मा नगरमा भ्रष्टाचार र अनियमितता मेरो कानमा सुन्न नपरोस् भनेर नै काम गरेको छु ।

spot_img

भर्खरै