spot_img

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

सोल –  उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए।

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाइएको छ। उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गरेको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिएका थिए। उनले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्को नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताए। शुक्रबार न्युयोर्कमा सम्वाददाताहरुसँग उत्तर कोरियाली विदेशमन्त्री रिले उत्तर कोरियाले अर्को र यसअघिको भन्दा अझ शक्तिशाली आणविक परीक्षण गर्ने र सो परीक्षण क्षेप्यास्त्रमा राख्न मिल्ने किसीमको हाइड्रोजन बम हुने बताए।

उनको भनाई थियो– मलाई लाग्छ सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुनेछ र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिनेछ। विदेशमन्त्री रिले भने– हाम्रो नेता किम जोङ उनको योजना बमोजिम यो परीक्षण हुनेछ र मैले भनेभन्दा अझै ठूलो र शक्तिशाली पनि यो हुन सक्नेछ। उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थलको निरीक्षण गरेको जानकारी हालैमात्र बाहिर आएको थियो।

पश्चिमा देशहरूले यस्तो खालको ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका थिए। तर अहिले सो अशङ्काका बारेमा केही भन्ने गरिएको छैन। उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो। आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो। उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ। उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित पनि भइसकेको छ। यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो।

त्यस समय उत्तरले गरेको सो परीक्षणले झण्डै छ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएको बताइएको थियो । अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा मापन गर्ने काम सुरु भएको छ। उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्री रिले दिएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ।

spot_img

भर्खरै