पर्वत, असोज ६ –कुश्मा नगरपालिकाको नगरसभा अनिश्चित भएको छ । गत बुधबारका लागि तय भएको सभा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षले विवाद झिकेपछि रोकिएको हो । असोज ४ गते नगरसभा गर्नेगरी बिषयगत समितिले बजेटमाथि छलफल हँुदैगर्दा सभा रोकिएर अनिश्चित भएको छ । एमालेबाट निर्वाचित प्रतिनिधिले टुक्रे योजनामा बजेट बिनियोजन गराउने आफ्नो अडान नछाडेपछि बजेट बाँडफाँड नै हुन नसकेको हो ।
नगर प्रमुख रामचन्द्र जोशीले वडा–वडामा टुक्रे योजना बितरण गर्नुभन्दा ठुला योजनामा बजेट बिनियोजन गर्ने प्रस्ताव राख्दा एमालेबाट निर्वाचित वडा अध्यक्षले अस्वीकार गर्दा सभा नै अनिश्चित भएको बताए । ‘कुश्मा नगरपालिकाले ५० करोडको बजेट सार्वजनिक गर्ने तयारी गरेको थियो, त्यसमा विकास बजेट १७ करोडको हाराहारीमा हुने रहेछ, त्यो रकमको कम्तीमा पनि आधा ठुला योजनामा लगाउने प्रस्ताव गर्दा वडा अध्यक्षहरुले अडान छाड्नुभएन’ जोशीले भने–‘प्रमुखलाई काम गर्न नदिने र कुश्माको विकास गर्नै नदिने नियत प्रष्ट देखिएको छ ।’
उनले नगर कार्यालयबाट वडा कार्यालय जोडिने सडकलाई केही बर्षभित्रै कालोपत्रे गर्नेगरी बजेट ल्याउने सोच आफ्नो रहेको बताए । ‘टुक्रे योजनामा बजेट जति छरेपनि देखिदैन, देखिनेगरी र जनताले राहत महसुस गर्नेगरी बजेट बिनियोजन ग¥यौ भन्ने मेरो सोच हो’ उनले भने–‘बजेट छर्ने कुरा विकास होइन, अनियमितता र भ्रष्टाचारलाई प्रश्रय देउ भन्ने नै हो ।’ बजेटका बिषयमा विवाद भएपछि नगरसभा अनिश्चित भएको छ ।
नगरसभा बस्न नसक्दा आर्थिक बर्ष ०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम आउन सकेको छैन । बजेट नआउदा कर्मचारी, शिक्षकले तलब पाउन सकेका छैनन् । सुत्केरी भत्तासहित अत्यावश्यक सेवाको खर्च समेत रोकिएको छ । दशैको मुखमा पनि समयमा तलबभत्ता नपाएपछि शिक्षक, कर्मचारीले बिरोध गरेका छन् ।
दशै नजिकिएपनि अहिलेसम्म तलबभत्ता नपाउने वातावरण बन्नु दुःखद भएको नेपाल शिक्षक युनियन पर्वतका पूर्वसचिव बालकृष्ण बास्तोलाले बताए । ‘कसका कारण शिक्षक, कर्मचारीले तलबभत्ता नपाएका हुन, खोज्नुपर्ने बेला आएको छ’ उनले भने । उता नगर प्रमुख जोशीले नगरसभा गर्न अबरोध भएपनि शिक्षक, कर्मचारीको तलब भत्ता कार्यकारी अधिकृतलाई टिप्पणी उठाउन लगाएर शुक्रबार निकासा गरिने बताए ।
‘दशैको मुखमा पनि कर्मचारी र शिक्षकलाई तलबभत्ता समयमा उपलब्ध गराउन नसक्दा दुःख लागेको छ’ उनले भने–‘शुक्रबार रिक्स मोलेरै भएपनि कर्मचारी, शिक्षकको तलबभत्ता र अत्यावश्यक काममा रकम निकासा हुन्छ ।’
बजेटलाई अन्तिम रुप दिने क्रममा जोशीले कार्यपालिकाको बैठकमा सहस्रधारा–कुनाचौर–वडा कार्यालय–नुवार सुवेदीथर–आगाखेत–ढकढके, छमर्के–छिपछिपे–कोटगाउँ–भुजेलथान–अम्बोट, दमखोल्सी–चनौटे, साइकलचोक–गहतेपोखरा–बुमी–ठुलीपोखरी–खौला, दोबिल्ला–पकुवा–डाडाखर्क–आर्थर–पञ्चासे दु्रतमार्ग, आर्थर–खौला सडक र एक घर एक धारालाई बहुबर्षिय योजनामा राख्न जोशीले प्रस्ताव गरेका थिए ।
वडाअध्यक्षहरुले त्यसको बिरोध गर्दै टुक्रे योजनामा बजेट बिनियोजन गर्न र वडालाई एकमुष्ट रकम बिनियोजन गर्न माग गरेका छन् । द्रुत र दिगो विकासका लागि बहुबर्षिय ठुला योजनामा लगानी गर्नुपर्ने प्रमुखको अडान वडा अध्यक्षले स्वीकारेका छैनन् । महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पनि वडामा र टुक्रे योजनामा बजेट दिनुभनेको हिजोकै परिपाटीलाई अपनाउनु भएको भन्दै त्यसले विकासको नतिजा नदिने बताए । ‘वडामा बजेट दिएर विकासको आस गर्ने कुरा वाहीयात हो, स्थानीय तहकै विकासको खाका बनाएर ठुला योजनामा खर्च गर्नुपर्छ’ पौडेलले भने ।