spot_img

बिपिको विचारमा पार्टी नचलेको गुनासो

पर्वत, भदौ २४–काँग्रेसका स्थानीय नेता, कार्यकर्ताले पार्टी संस्थापक नेता बिपिको विचारबाट बिचलित भएको गुनासो गरेका छन् । काँग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री बिपि कोइरालाको एक सय तीन औ जन्मदिनका अवसरमा पर्वत काँग्रेसले यहाँ आयोजना गरेको कार्यक्रममा कार्यकर्ताले नेतृत्व तह सच्चिनुपर्ने बताए ।
‘काँग्रेसजनले छातीमा हात राखेर सोच्ने बेला आएको छ, बिपिले पार्टी स्थापनादेखि प्राण त्याग गर्दासम्ममा जुन विचार लिएर हिड्नुभयो अहिले पार्टीको नेतृत्व तहबाट बिचलित हुदै गएको आवास भएको छ’ नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष गोबिन्द पोखरेलले भने ।
उनले घरको सौतेनी ब्यवहार पार्टीमा सल्केको भन्दै पार्टीले सुकिला–मुकिलाभन्दा बिपन्न, गरिबको अवस्थालाई ध्यान दिएर नीति बनाउन जरुरी रहेकोमा जोड दिए । ‘बिपिले जसरी सुकिला–मुकिलाले पार्टीमा हालीमुहाली जमाउछन भनेर भन्नुभएको थियो, हो त्यही आज हुदै गइरहेको छ’ उनले भने ।
डेमोक्रेटिक लयर्स एशोसिएसन पर्वतका सचिव हरिनारायण रेग्मीले काँग्रेस पार्टीमा बिपिको मार्ग हराउदै गएकोमा चिन्ता जनाए । ‘हिजो बिपिले लिएको नीति, सिद्धान्त र विचार आज पनि उत्तिकै महत्वपूर्ण छ’ उनले भने–‘बिपिको विचारलाई सही रुपमा पालन गरेर उहाँके मार्गमा पार्टीलाई ल्याउन जरुरी छ ।’
प्रजातान्त्रिक विचार समाज पर्वतका अध्यक्ष एवम् केन्द्रीय सदस्य सुबास पन्तले काँग्रेस पार्टी अहिलेको मार्गबाट परिमार्जित हुनुपर्ने बताए । ‘बिपिको लय जुन हो त्यो पार्टीमा छैन’ उनले भने–‘एकले अर्कोलाई सिध्याउने र निष्ठाको राजनीति पार्टीमा हराएको छ ।’ उनले नेता कार्यकर्ताको उचित मुल्यांकन र सम्मान हुन पनि जरुरी रहेकोमा जोड दिए ।
काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले निष्ठा र योगदानको मुल्यांकन भन्दा पार्टीका सुकिला–मुकिलालाई अवसरमा प्राथमिकता दिनु नै पार्टीको कमजोरी भएको स्वीकारे । ‘निष्ठा र योगदानबिना टिकट बितरण गर्ने, पार्टीको महत्वपूर्ण जिम्मेबारी दिदा आज नेतृत्वमाथि नै खतरा देखिएको छ’ उनले भने । उनले बिपिको बिचारलाई अक्षरस मान्दै गएका कुनैपनि कार्यकर्ता निराश हुनुनपर्ने दाबी गरे ।
सभापति भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य निर्मल विक, कुलप्रसाद उपाध्याय, डा.चुडामणी शर्मा, आमन्त्रित सदस्य देवीप्रसाद बिलासी, महिला संघका क्षेत्रीय कोषाध्यक्ष मिना पाठक, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष धुब्र सुवेदी, कुश्मा–४ का वडा अध्यक्ष मिना कर्माचार्यलगायतले बिपिको बारेमा बोलेका थिए ।

spot_img

भर्खरै