spot_img

पत्रकार पौडेलमाथि आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए धम्की

पर्वत, साउन २०–नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले धम्की दिएका छन् । नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक खड्काले पौडेललाई मेरो करिअर सिध्याउने भन्दै धम्की दिएका हुन ।
संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएको पौडेलले जानकारी दिएका छन् ।
रिपोर्टिङका लागि आपूर्ति मन्त्रालय पुगेका पौडेललाई आपूर्ति मन्त्रालयमा ‘तपाईको पनि परिवार छन्, बिचार गर्नुहोस’ भन्दै धम्की दिएका थिए । त्यसपछि खड्कासँग कुरा गर्न खोज्दा ‘म सँग कुरा नगर्नु भित्तालाई सुनाउनुहोस’ भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको कार्यकक्षमा प्रवेश गरेका थिए । मण्डलको कार्यकक्षबाट आपूर्ति सचिव प्रेमकुमार राईको कक्षमा पुगेका खड्काले फेरि पौडेलसँग भेट भएपछि मेरो करिअर सिध्याउने ? भनेका थिए ।
पौडेलले गत साउन २ गते ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचारमार्फत अनियमिता सार्वजनिक गरेका थिए । सो समाचार प्रकाशित भएपछि संसदको अर्थ समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेका थिए । लेखा समितिले शुक्रबार खड्कामाथि कारवाही अघि बढाउन अख्तियार पठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि पौडेल आपूर्ति मन्त्री मण्डलको प्रतिक्रिया लिन मन्त्रालय पुग्दा कार्यकारी निर्देशक खड्कासँग भेट भएको थियो । त्यही मौकामा उनले धम्क्याएका हुन् । उक्त धम्कीप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेले एक विज्ञप्ती प्रकाशित गरी पौडेलमाथिको धम्कीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिले यसखालको अमर्यादित शैलीमा पत्रकारमाथि धम्की दिनु खेदजनक छ । समाचारमा चित्त नबुझे कानूनी उपचारको मार्ग हुँदाहुँदै धम्कीमा ओर्लेर प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न खोज्ने निर्देशक खड्काको उक्त व्यवहारको भत्र्सना गर्दछौ’ विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले पौडेलमाथि भएको धम्कीप्रति आपत्ति प्रकट गरेको छ । महासंघ रिपब्लिका शाखाका अध्यक्ष अशोक दाहालले एक विज्ञप्ती जारी गर्दै पत्रकारको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत सुरक्षाको पहल गरिदिन सरकार, पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकारसँग माग गरेको छ ।

spot_img

भर्खरै