spot_img

सिगुठीको अगुवाईमा कुश्मामा ‘लाखेनाँच’

पर्वत, साउन १६–नाग पञ्चमीदेखि थालिने लाँखे नाँच नचाउन यहाँ सुरु गरिएको छ । सिगुठी संस्कृति जागरण समितिको अगुवाईमा लाखे नाँच नचाउन सुरु गरिएको हो । नेवार समुदायमा प्रचलित भएपनि पछिल्लो समयमा लोप हँुदै गएको यो नाच ऋषि पञ्चमीसम्म देखाउने गरिन्छ । देढ दशकअघिसम्म नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका आधा दर्जनस्थानमा यो नाँच देखाइने भएपनि अहिले सदरमुकाम कुश्मामा मात्रै सीमित हुन पुगेको छ ।
‘अन्य धेरै ठाउँमा लोप हँुदै गएको छ, सदरमुकाम कुश्मामा त नाचलाई निरन्तरता दिनुपर्छ भनेर लाखे नाच देखाएका हौ’ सिगुठी संस्कृति जागरण समितिका अध्यक्ष यामनारायण श्रेष्ठले भने । युवापुस्ताहरु पलायन हुने र यो नाँच देखाउन छाड्दा कुनै दिन लाखे नाँच भनेको के हो भन्ने परिस्थिति आउने भएकाले आफुहरुले लाखे नाच संरक्षणमा लागेको बताए ।
उनका अनुसार डेढदशकअघिसम्म पर्वतको कुश्मासहित कार्कीनेटा, फलेबास, हुवासलगायत बढी नेवारबस्ती भएका ठाउँमा यो नाच देखाइँन्थ्यो । ‘पुरानो पुस्ता सकिए, नयाँ पुस्ता बिदेशिए, त्यसैले यो नाँच जिल्लाका धेरै ठाउँमा देखाउनै छाडिएको छ’ श्रेष्ठले नागरिकसँग भने ।
उनका अनुसार कृष्णलाई मार्नका लागि कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर नेवार समुदायमा लाखे नाँच नचाउने गरिएको हो । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदै विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरुपमा बनाइने खप्पर, कालिकाको बस्त्रसहित ब्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।
नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहेपनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परा पनि हराउँदै गएको छ । लाखे नाचमा ढोलक, टयाम्पो, सनाई, मजुरा लगायतका बाजा बजाइँन्छ । भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाँच रातीमा देखाइने भएपनि सदरमुकाम कुश्मामा भने दिउँसो पनि देखाइने गरिएको छ । ‘हाम्रो उदेश्य नै लाखे नाँचको संरक्षण गर्ने भएकोले दिउसो र राती देखाउनुमा कुनै फरक छैन’ श्रेष्ठले भने ।
यो नाच अन्य नाचभन्दा बढी आकर्षक र मनोरञ्जनात्मक हुने कुश्माका राजनकुमार जोशी बताउँछन् । यो नाचलाई नेवार समुदायभन्दा पनि राज्यले नै संरक्षणको ब्यवस्था मिलाएर आगामी पुस्ताले समेत अनुभव गर्ने हुनुपर्ने नेवार समुदायका ब्यक्तिको धारणा रहेको छ । ‘यो नेवारको भन्दा पनि राज्यको संस्कृति हो, त्यसैले सरकारले नै संरक्षण गर्नमा तत्परता देखाउनुपर्छ’ श्रेष्ठले भने । उनले लाखे नाचको संरक्षणका लागि युवालाई प्रशिक्षण दिन थालिएको बताए ।
साढे पाँच दशकसम्म लाखे नाचको अनुभव लिएका ६३ बर्षिय श्रेष्ठले अहिले आफुहरुले समिति नै बनाएर नेवार समुदायका संस्कृति जोगाउने अभियान थालेको बताए । ‘हाम्रो पुर्खाको संस्कृति हाम्रो पुस्तालाई पनि थाहा हुनुपर्छ’ उनले भने–‘लाखे नाँच देखाउनुको मुख्य उदेश्य नै त्यही हो ।’

नागपञ्चमी दिन शुक्रबार पर्वत सदरमुकाम कुश्मामा निकालिएको लाखे नाच ।
spot_img

भर्खरै