पर्वत, साउन १५–घुम्न आएका एक जोडीले नेपालकै अग्लो पुलबाट हाम फालेका छन् । कुश्मा–ज्ञादी पुलबाट शनिबार राती हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–१४ का २५ बर्षिय मुना राना र धरान उपमहानगरपालिका–११ का २६ बर्षिय अमित गुरुङले शनिबार राती अग्लो पुलबाट मोदीखोलामा हाम फालेका हुन ।
दुबै जनाको आइतबार मोदीखोलाबाट प्रहरीले शव निकालेको छ । राती १० बजेको समयमा पुलमा एक बेवारिसे झोला भेटिएको थियो । उक्त झोलामा रहेको कागजातका आधारमा राना र गुरुङको पहिचान भएको प्रहरी निरिक्षक मधुकरजंग बिष्टले जानकारी दिए । ‘बेवारिसे झोलाले शवको पहिचान भएको छ’ उनले भने–‘अग्लो पुल घुम्न आएका उनीहरुले सँगै हाम फालेको हुनसक्छ ।’
बेवारिसे झोलामा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत प्रहरीले फेला पारेको जनाएको छ । दुबैजनाका परिवारलाई प्रहरीले जानकारी गराएको छ । दुबै जनाको शव अहिले जिल्ला अस्पताल पर्वतमा रहेको छ । यो पुल एक सय ३५ मिटर अग्लो रहेको छ । जोडीले के कारणले आत्महत्या गरे भन्ने कुनै कारण नखुलेको प्रहरीले जनाएको छ । यो पुलबाट हालसम्म आधा दर्जनबढीले हाम फालेर आत्महत्या गरिसकेका छन् ।