spot_img

पर्वत महोत्सवमा भवानी राणासहितले बोलेको रकम दिएनन्

पर्वत, साउन १५–गत माघमा सम्पन्न पर्वत महोत्सवमा झण्डै ६० लाख रुपैयाँ बचत भएको छ । सम्पूर्ण खर्च कटाएर ५९ लाख ३२ हजार नौ सय ३७ रुपैयाँ बचत भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए ।
संघले आइतबार गरेको पत्रकार सम्मेलनमा एक करोड १७ लाख सात हजार पाँच सय आठ रुपैयाँ आम्दानी भएको जनाएको छ । त्यस्तै महोत्सवमा ५७ लाख ६४ हजार पाँच सय ७१ रुपैयाँ खर्च भएको संघले जानकारी दिएको छ । ‘हामीले ४० लाख बचत हुने अनुमान गरेका थियौ’ लामिछानेले भने–‘हाम्रो अनुमानभन्दा बढी बचत हुदा खुशी छौ ।’
अर्थ समितिका संयोजक गोपी अधिकारीका अनुसार सबैभन्दा बढी टिकट बितरणबाट २२ लाख ३३ हजार रुपैयाँ प्राप्त भएको छ । रमाइलो मेलाबाट १४ लाख, स्टल बिक्रीबाट १३ लाख ७४ हजार आम्दानी भएको छ । महोत्सवमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्ला समन्वय समिति, कुश्मा नगरपालिका, विभिन्न बैंक, उद्योगी, ब्यापारी लगायतले सहयोग गरेको अधिकारीले जानकारी दिए ।
महोत्सवको समयमा बोलकबोल गरेको रकम अझै उठ्न बाँकी रहेको संघले जनाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित विभिन्न उद्योग, कलकारखाना, संस्था र ब्यक्तिबाट २७ लाख २३ हजार नौ सय ७५ रुपैयाँ उठ्न बाँकी रहेको संघको भनाई छ । ‘बाँकी रकम आउने क्रम अझै जारी रहेको छ’ अधिकारीले भने । पाचौ पर्वत महोत्सव गत माघ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको थियो ।
उद्योग बाणिज्य संघले बचत भएको रकमबाट २५ लाखको कल्याणकारी कोष बनाउने बताएको छ । ब्याज रकमबाट विभिन्न क्षेत्रलाई समेटेर कल्याणकारी ठाउँमा खर्च गर्नेगरी कोष निर्माण गर्ने संघले निर्णय गरेको छ । संघले कुश्मामा खेलमैदान निर्माण, सिटी हल निर्माण, कोल्डस्टोर निर्माणलगायत उद्देश्य राखेर महोत्सव आयोजना गरेको थियो ।
अध्यक्ष लामिछानेले सिटी हल निर्माण, कोल्डस्टोर निर्माणलगायतका योजना सरकारबाटै प्रक्रियामा रहेकोले अहिले आफुहरुले खेलमैदान निर्माणलाई प्राथमिकता दिएको बताए । ‘कुश्मामा ब्यवस्थित खेलमैदान छैन, खेलाडीहरु दिनप्रतिदिन पलायन हुनुपर्ने अवस्था छ’ लामिछानेले भने–‘खेलाडी उत्पादन गर्न र पलायनबाट रोक्न पनि खेलमैदान आवश्यक छ, त्यसैले मैदान निर्माणमा बढी महत्व दिएका छौ ।’
खेलमैदान कब्जा गरेर सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलकुद गतिविधि निकै कम छ । अहिले बर्षेनी राष्ट्रपति रनिङशिल्ड हुँदै आएपनि मैदान अभावले समस्या हुँदै आएको छ । अहिले कुश्माको बडागाउँमै रहेको सार्वजनिक जग्गालाई सम्याएर मैदान निर्माण गर्ने तयारी भएपनि निर्माण पुरा भएको छैन । मैदान निर्माणका लागि रकम अझै अभाव हुने उनले बताए ।

spot_img

भर्खरै