पर्वत, साउन ३–२०४६ सालको परिवर्तन यता नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी, राप्रपालगायत दलका नेताको नेतृत्वमा थुप्रै सरकार बने तर यो अवधिमा पर्वत जिल्लाले एउटा फुल मन्त्री पनि पाउन सकेन । अहिलेसम्म फूल मन्त्री पाउन नसकेको जिल्ला हो पर्वत जिल्ला ।
यहाँ लोकप्रिय र जनताबाट लामोसमयसम्म अनुमोदन भएका नेता भएपनि दलका नेतृत्वले पर्वतलाई मन्त्री पद पत्याउन सकेनन् । पर्वतमा मन्त्री हुने योग्य ब्यक्ति नभएर होइन, एक हिसावले भन्दा पर्वत जिल्ला दलको नेतृत्वबाट हेपिएको जिल्ला पनि हो । हरेक सरकार गठन हुँदा पर्वतले मन्त्री हुने आश गर्छ तर नेतृत्वले पर्वतबासीको चाहना सुन्दैन र बुझ्दैन पनि ।
नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी १६ बर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापति भए । तीन कार्यकाल पार्टीको केन्द्रीय सदस्य । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्वत–१ बाट बिजयी भएका जोशी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत लोभलाग्दो मत ल्याएर बिजयी भए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धेरै जिल्लामा काँग्रेस एमालेका प्रभावशाली र शिर्ष नेताहरु पराजित हुदा समेत जोशीले पर्वत–१ मा राम्रो मतसहित बिजयीको झण्डा गाडेका थिए । नेतृत्वको चाकडी र चाप्लुसीमा विश्वास नगर्ने जोशीलाई तीन÷तीन पटक जनताबाट अनुमोदन हुदा पनि काँग्रेस नेतृत्वले मन्त्री पद पत्याउन सकेको छैन ।
जनताबाट अनुमोदित ब्यक्तिलाई छाडेर निर्वाचनमा पराजित हुने डरले समानुपातिक पद हडप्न माहिर खेलाडीलाई पटक–पटक मन्त्री दिनु जनताको मतको कदर गर्नबाट चुक्नु हो । त्यसैले यो पटक पार्टीको नेतृत्वसमेत गरिरहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवम ब्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्नुपर्छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बनाउने देउवाले प्रस्ताव गरेपनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित मागेर मन्त्री पद त्यागेका जोशीलाई देउवाले यसपटक मन्त्री नबनाएमा पर्वत मात्र नभएर धौलागिरीकै काँग्रेस कार्यकर्ता निराश हुने अवस्था छ ।
नेपाली काँग्रेसभित्र लगातार चुनाव जित्नेमध्ये नेता जोशी, पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पर्छन । सभापति एवम् प्रधानमन्त्री देउवाले यसपटक जोशीलाई अन्याय गर्नेछैनन् भन्नेमा कार्यकर्ता आश्वस्त रहेका छन् । यसअघि काँग्रेस सरकारमा जादा जोशीलाई सरकारमा नपठाएकोमा पर्वतसहित धौलागिरीकै काँग्रेस कार्यकर्ताले पार्टीमा असन्तुष्टि जनाउदै आएका थिए । धौलागिरीमा आउने पार्टीका मुख्य नेताप्रति पर्वतका कार्यकर्ताको यस्तै आक्रोश ब्यक्त हुने गरेको छ ।
जोशी देउवा पक्षबाटै पार्टीको महाधिवेशनमा चुनाव लड्दा नै पराजित भएका थिए । आफु हारेर पनि शेरबहादुर देउवालाई पार्टी सभापतिमा बिजयी बनाउन महत्वपूर्ण भुमिका खेलेका जोशीलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । देउवाले जसरी आफु धौलागिरी प्रवेश गर्ने क्रममा सम्मानपूर्वक जोशीलाई मनोनित गरेका थिए, त्यसरी नै पर्वतका जनता र आम नेपाली काँग्रेसका कार्यकर्ताको सम्मानका लागि पनि काँग्रेस नेता अर्जुन जोशीलाई मन्त्रीमा नियुक्त गर्नुपर्ने कार्यकर्ताको भावना देखिन्छ । देउवाले पर्वतबासी र इमान्दार काँग्रेस कार्यकर्ताको भावनालाई कति सम्मान गर्छन्, केही दिनपछि हुने मन्त्रीपरिषदको बिस्तारले नै बताउनेछ ।
यसकारण पनि अर्जुन जोशी मन्त्रीका हकदार
