पर्वत, साउन ३–तत्कालिन नेकपा माओबादीको जनयुद्ध कालमा बेपत्ता, मृत्यु भएकाका परिवार र बिस्थापितलाई पर्वतमा तीन करोड बढी रकम बितरण गरिएको छ । उनीहरुका परिवार र बिस्थापितलाई तीन करोड दुई लाख २५ हजार चार सय ५० रुपैयाँ बितरण गरिएको हो ।
मृत्यु भएका व्यक्तिका परिवार, वेपत्ता व्यक्तिका हकदार र विस्थापित भएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालय पर्वतले यो रकम बितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रविन ढकालले जानकारी दिए । ‘आर्थिक बर्ष ०७३÷०७४ मा मात्रै यो रकम बितरण गरेका हौ’ उनले भने ।
उनकाअनुसार यसअघि पाँच लाख रुपैयाँ राहत रकम बुझेका वेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई पाँच लाख बितरण गरिएको हो । यसअघि उनीहरुलाई पाँच लाख रुपैयाँ प्रदान गरिसकिएको थियो । ‘पछिल्लो पाँच लाख रुपैयाँसँगै बेपत्ता र मृतकका परिवारले १० लाख रुपैयाँ राहत पाएका छन्’ ढकालले भने ।
त्यस्तै सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका सुरक्षाकर्मीका परिवारलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उनीहरुले यसअघि आठ लाख ५० हजार रुपैयाँ पाइसकेका थिए । ‘सुरक्षाकर्मीका परिवारलाई पनि थप रकम दिएर १० लाख रुपैयाँ पु¥याइएको हो’ उनले भने । पर्वतमा माओबादी जनयुद्धका क्रममा दुई जना बेपत्ता भएको र उनीहरुका परिवारलाई यसअघि नै १० लाख रुपैयाँ प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
द्धन्द्धकालमा पर्वतमा सर्वसाधारण, सुरक्षाकर्मी र माओबादी कार्यकर्ता गरी ८४ जनाले ज्यान गुमाएका थिए । उनीहरुका परिवारले पछिल्लो रकमसँगै १० लाख रुपैयाँ पाएका छन् । यसैगरी जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार २२ घरपरिवारका ८४ जना विस्थापित भएका थिए । उनीहरुलाई प्रतिजना २५ हजारका दरले बितरण गरिएको छ ।


