काठमाडौं, असार २०—संविधान संशोधनको माग राखेर निर्वाचन भाँड्ने धम्की दिँदै आएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्।
राजपाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने चर्चा चलिरहेका बेला ठाकुर र देउवाबीच भेटवार्ता भएको हो। करिब ४० मिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बिताएका ठकुर त्यसपछि सोझै लैनचउरस्थित भारतीय दूतावास पुगेका छन्।
दूतावासमा उनले भारतीय राजदूतसहितका अधिकारीसँग छलफल गरिरहेको स्रोतले जनायो। भारतीय दूतावासको बैठकपछि ठाकुर बिजुली बजारस्थित पार्टीको बैठकमा भाग लिन फर्किनेछन्। पार्टीको महत्वपूर्ण निर्णयका लागि त्यहाँ राजपा अध्यक्ष मण्डलका चार नेताहरु पर्खिएर बसेका छन्। भारतीय दूतावासको सन्देशसहित ठाकुर फर्किएपछि राजपाको भावी दिशा तय हुने स्रोतले जनायो।
काँग्रेस-माओवादी गठबन्धनलाई समर्थनले संविधान संशोधनको माग पूरा नहुने देखिएपछि राजपा एमालेसँग नजिक पुगेको छ। संविधान संशोधनको विपक्षमा उँभिदै अाएको एमालेका नेताहरु मंसिरसम्ममा अाफ्नो सरकार बन्ने बताइरहँदा राजपा काँग्रेस-माओवादी गठबन्धनसँग टाढिएको हो।


