पर्वत, असार ७–राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल २३ औ बर्षमा प्रवेश गरेको छ । विभिन्न १५ वटा जिल्लामा ५२ वटा शाखामार्फत लघुबित्त कार्यक्रम सञ्चालन गर्दै आएको नेष्डो बुधबारदेखि २३ औ बर्षमा प्रवेश गरेको हो । नेष्डो नेपालले पर्वत सदरमुकाम कुश्मामा एक कार्यक्रम गरी केक काटेर स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले नेष्डो नेपालले शैक्षिक तथा सामाजिक काममा लामो इतिहास बोकेको चर्चा गर्दै लघुबित्त कार्यक्रममार्फत विभिन्न बिपन्न लक्षित कार्यक्रमलाई अझै बढाउदै लैजान शुभकामना दिए ।
समाजमा कतिपय महिलाहरु थोरै ऋणको अभावले पनि आयआर्जन गर्न नसकिरहेको अवस्थामा लेष्डो नेपालले बिपन्न र समाजबाट नपत्याइएका महिलालाई राहत दिएको उनले बताए । ‘बिनाधितो नेष्डो नेपालले बिपन्न महिलालाई ऋण त दिएको छ अझै ऋणसँगै सीप सिकाउने नयाँ कार्यक्रम ल्याउन सक्यो भने बिपन्न महिलाले सहज रुपमा आफुले लिएको ऋण तिर्न सक्ने थिए’ उनले भने ।
पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष केदारनाथ शर्माले नेष्डो नेपालले सामाजिक परिवर्तन र महिलाहरुको आयआर्जनका लागि पु¥याएको योगदानको चर्चा गर्दै पर्वत उद्योग बाणिज्य संघले सधै नजिक रहेर काम गर्न तयार रहेकोमा जोड दिए ।
नेष्डो नेपाल कुश्मा शाखाका प्रबन्धक खिमकुमारी थापाको अध्यक्षता र केन्द्र प्रबन्धक बिष्णु बुढाथोकीको सञ्चालनमा भएको कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, नेपाली काँग्रेस पर्वत क्षेत्र नम्बर २ का सचिव सुमन तिवारी, नेष्डो नेपालका सचिव जितबहादुर नेपालीलगायतले बोलेका थिए ।
२०५२ साल असार ७ गते स्थापना भएको नेष्डो नेपालले २०५७ कार्तिक १६ गतेदेखि लघुबित्तिय कारोबार सुरु गरेको थियो । अहिले नेष्डोले १५ जिल्लाका एक सय एक नगरपालिका तथा गाउँपालिकाका ७७ हजार बिपन्न परिवारको घरदैलोसम्म पुगी सेवा दिदै आएको जनाएको छ ।