पर्वत ३१ जेठ । जिल्ला भुसंरक्षण कार्यालय पर्वतले विभिन्न प्रजातीका ९० हजार बिरुवा वितरण गर्ने भएको छ । फलफुल र डाँलेघासका गरि ९० हजार भन्दा बढि बिरुवा वितरण गर्न लागेको हो । ग्रामीण क्षेत्रमा पहिरो र भुक्षयको न्यूनिकरण सँगै स्थानियवासीहरुको आयआर्जनमा बृद्धि हुने प्रकृतिका बिरुवाहरु वितरण गर्न लागिएको जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिए ।
वडहर, धुपी, राईखनियू, इपिलइपिल, बिरेन्द्र फुल, कल्की, बकाइनो, टाँकी र किम्बुका ५० हजार बिरुवा वितरण गरिने भएको हो । त्यसैगरी अम्रिसोका ८ हजार, बाँस ३ हजार पाँच सय, सुन्तला ३ हजार पाँच सय, कागती ४ हजार , आप ९ सय, लिचि ७ सय र अलैचीका २० हजार विरुवा वितरण गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालयले उक्त संख्यामा बिरुवा बाड्ने लक्ष्य रहेपनि अहिलेसम्म कुल बिरुवाको ३० प्रतिशत मात्रै माग आएको कार्कीले जानकारी दिएका छन् । प्रचारप्रसारको अभावले कृषकहरुले थाहा नपाएर होला माग निकैन्यून रहेको छ कार्कीले भने ।
जिल्लाको मोदी गाउँपालिका अन्तर्गत साविकको राम्जा, चित्रे, देउरालीमा अलैची र अमृसो बितरण गरिने भएको छ भने देउरालीको जयलेमा बाँस तथा पहिरो रोकथाम गर्ने अन्य बिरुवाहरुलाई केन्द्रित गरिने भएको छ । बाँकी बिरुवाहरु जिल्लाभरीकै कृषकहरुलाई मागका आधारमा वितरण गरिने समेत कार्यालयले जनाएको छ । भुकम्प पिडितलाई आयआर्जन कार्यक्रम अन्तर्गत उक्त विरुवाहरु वितरण गर्न लागिएको पनि कार्यालयले जनाएको छ ।