पर्वत, जेठ ३१–पर्वतमा गत पौष ८ गतेदेखि घर तथा समुदायमा आधारित हेरचाह सेवा कार्यक्रम शंकाको घेरामा तानिएको छ । पाँच महिनाको अवधिमा गरेको प्रगति देखाउन, कार्यक्रमको बजेट सार्वजनिक गर्न र राज्यका निकायलाई कार्यक्रमका बारेमा जानकारी नहुनुले कार्यक्रम नै शंकाको घेरामा परेको हो ।
बुधबार जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित समन्वय बैठकमा संस्थाले कार्यक्रमको कुल बजेट, अहिलेसम्मको प्रगति, उपलब्धी, कार्यक्षेत्रका बिषयमा अस्पष्टता ब्यक्त गरेको हो ।
कम्युनिटी सपोर्ट गु्रप शाखा कार्यालय पर्वतका अधिकृत प्रेम केसीले बजेट र कार्यक्रम पहिले नै सार्वजनिक गरिएकोले पटक–पटक सार्वजनिक गर्न नपर्ने दावी गरे । जबकी उक्त बैठकमा आएका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.बुद्धिबहादुर थापा, महिला विकास अधिकृत सिता थापा, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत पहिलो पटक उक्त कार्यक्रममा उपस्थित थिए ।
संस्थाले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक सहयोग र एनएपिएनको साझेदारीमा यो कार्यक्रम सञ्चालन गरेको भनिएपनि यहाँ रहेका राज्यका निकायसँग समन्वय र जानकारी नहुनुले परियोजनामै घोटाला भएको आशंका गरिएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुख सिता थापाले एउटा तथ्यांकका आधारमा आफुहरुले बास्तविक कुरा नबुझी सहयोग गर्न नसक्ने बताइन् ।
‘तथ्यांक दिइन्छ तर, ब्यक्तिको बारेमा कुनै पनि जानकारी दिइदैन, त्यसैले यो कार्यक्रम नै मलाई शंका लागेको छ’ उनले भनिन्–‘राज्यले कसम खाएर जागिर खाएका हामीलाई गोप्य रुपमा जानकारी नगराउनु दुःखद पक्ष हो ।’ ब्यक्तिको गोपनियताका बिषयमा आफुले स्पष्ट बुझ्ने भएको भन्दै कार्यालयका प्रमुखलाई जानकारी नै नभई सहयोग गर्नै नसक्ने प्रष्ट पारिन् ।
समन्वय बैठकमा कार्यक्रमको कुल बजेट, हालसम्मको प्रगति, कार्यक्षेत्रलगायतको बिषयमा जिज्ञासा राखेपनि संस्थाले पहिले नै सार्वजनिक गरेको भनी उम्कने प्रयास गरेको थियो । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले पारदर्शिताको बिषय भएन भने शंका रहने बताउदै सबै कुरा सार्वजनिक गर्नुपर्ने बताए ।