पर्वत, जेठ १८–नेकपा एमाले पर्वतले कुश्मा नगरपालिकामा निर्वाचित आफ्नै जनप्रतिनिधिप्रति चरम अविश्वास गरेको छ । नगर कार्यपालिकाको निर्वाचनमा बिक्री हुने डरले आफ्नो पार्टीको तर्फबाट निर्वाचित वडाअध्यक्षसहितका सदस्यलाई एक सातासम्म कब्जामा लिएको हो । गोष्ठी छ भनेर वडा अध्यक्ष र सदस्यलाई कुश्मा बोलाएको एमालेले पोखराहुदै लुम्बिनी पु¥याएको हो ।
‘सुरुमा कुश्मामा गोष्ठी भनेर बोलाइयो पछि अवलोकन भ्रमण भनेर पोखरा हुदै लुम्बिनी पु¥याएर नियन्त्रणमा राखियो’ एक वडाअध्यक्षले सारथीन्युजसँग कुरा गर्दै भने–‘पार्टीले हार्मीप्रति चरम असन्तुष्टि त गरेकै हो तर पार्टीको निर्देशनलाई मान्न बाध्य भयौ ।’ उनले एक सातासम्म मोबाइलसमेत नियन्त्रणमा लिइएको र पार्टीको निगरानीमा बस्न बाध्य भएको बताए । ‘एक हिसाबले भन्दा हामी आफ्नै पार्टीबाट अपहरणजस्तै भएका थियौ’ आज मतदात गरेपछि मात्रै मुक्त भयौ ।’
२०५४ सालमा नेकपा एमालेबाट निर्वाचित एक गाविस अध्यक्षले जिल्ला सभापतिको निर्वाचनमा अर्को पार्टीका उम्मेदवारलाई मत दिएर बिजयी गराएपछि अहिले कुश्मा नगरमा पनि त्यही घटना दोहोरिने डरले एमालेले आफ्नै जनप्रतिनिधिलाई मतदान नभएसम्मका लागि विभिन्न बहानामा नियन्त्रणजस्तै गरेर राखेको एमालेकै एक नेताले प्रष्ट पारे ।
कुश्मा नगरपालिकाका १४ वटा वडा मध्ये नेपाली काँग्रेसले प्रमुख र उपप्रमुखसहित पाँच वडा अध्यक्ष जितेको थियो । बाँकी नौ वटा वडा अध्यक्ष नेकपा एमालेले जितेको थियो । काँग्रेसले नगरका ७२ पदमध्ये प्रमुख र उपप्रमुखसहित ३५ र एमालेले ३७ पद जितेको थियो । दुई मतले मात्रै अघि रहेको एमालेले नगर कार्यपालिकाको निर्वाचनमा पराजित हुने त्रासले आफ्नै मत सुरक्षित गर्न पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई अपहरण शैलीमा गायब बनाएको हो ।
बिहिबार मतदान तोकिएको कुश्मा नगर कार्यपालिकाको चुनावमा काँग्रेसका मतदाताले मतदान गरेर फर्किएपछि कडा निगरानीमा आफ्ना मतदातालाई गाडीमा ल्याएर मतदान गरेर घर फर्काएको थियो । निर्वाचनमा एमालेले निर्वाचित सदस्यमध्येबाट पाँच जना महिला र बाहिरबाट दलित तथा अल्पसंख्यक गरी आठ वटै पद जितेको छ ।


