spot_img

भारतीय आप्रवासीका समलिंगी पुत्र आयरल्यान्डका सम्भावित प्रधानमन्त्री

सिएनएन

आयरल्यान्डको राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा उनको उमेर २२ वर्षको मात्र थियो। २७ वर्षको हुँदा उनी सांसद पदमा निर्वाचत भए। ३६ वर्षको उमेरमा उनले आफू समलिंगी भएको सार्वजनिक अभिव्यक्ति दिए। आइरिस आमा र भारतीय पिताका सन्तान ३८ वर्षीया लिओ भारदकर आगामी महिना सम्भवत: आयरल्यान्डका प्रधानमन्त्री पदमा निर्वाचित हुनेछन्।

आयरल्यान्डको राजधानी डुब्लिनमा जन्मे-हुर्केका यी युवाले वर्तमान सरकारमा ‘सामाजिक आरक्षण’ मन्त्रालय सम्हाल्दै आएका छन्। सन् २०११ देखि आयरल्यान्डमा प्रधानमन्त्री रहेका एन्डा केनीले यो महिना राजीनामा दिएपछि लिओ भारदकरले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याए र त्यसका लागि अभियान सुरु गरे। केनी र भारदकर दुवै सत्तारुढ पार्टीका नेता हुन्। प्रधानमन्त्री पदका लागि भारदकरका एकमात्र प्रतिद्वन्द्वी साइमन कोभेने हुन्, जो वर्तमान सरकारमा आवास मन्त्री छन्। उनी बलिया उम्मेद्वार भने होइनन्।

राजधानी सहरबाहिरका ‘कन्जर्भेटिभ’ मतदातामाझ कोभेने केही लोकप्रिय भए पनि सहरी आवाजको प्रतिनिधित्व भने भारदकरले गर्छन्। भारदकर आइरिस गाउँहरुमा समेत पार्टी कार्यकर्ता र मतदातामाझ लोकप्रिय छन्। आफ्ना प्रतिद्वन्द्वीभन्दा भारदकरले पार्टीका बढी संसदहरुको समर्थन प्राप्त गरेका छन्। उक्त प्रतिस्पर्धामा पार्टी सांसदहरुको मत ६५ प्रतिशत हुनेछ। कुल मतदातामध्ये ३५ प्रतिशत पार्टी सदस्य र स्थानीय राजनीतिज्ञहरु हुनेछन्। चुनावको अन्तिम नतिजा जुन २ तारिखमा सार्वजनिक हुनेछ।

सन् २०१५ मा आयरल्यान्डले समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्नेबारे ऐतिहासिक जनमत संग्रह हुने बेला भारदकरले आफू समलिंगी भएको सार्वजनिक गरेका थिए। तर, समलिंगी हुनुले नै आफ्नो व्यक्तित्व परिभाषित नगर्ने उनको ठहर छ। उनले भनेका छन्- ‘त्यसले (समलिंगी हुनुले) मेरो व्यक्तित्व परिभाषित गर्दैन। म आधा भारतीय होइन वा म डाक्टरी पेसा भएको राजनीतिज्ञ भन्ने पनि होइन। न त म समलिंगी राजनीतिज्ञ हुँ। त्यो भनेको मेरो व्यक्तित्वको एक भाग मात्र हो, मेरो चरित्रको एक अंश मात्र हो।’

हालैका वर्षहरुमा आयरल्यान्डले उदारवादी युरोपेली पहिचान अंगाल्दै गएको छ र राजनीतिमा धर्मको प्रभावबाट आफूलाई मुक्त गर्दै लगेको छ। भारदकर पनि आफ्नो यौनिक पहिचानबाट देशको ध्यान राजनीतितर्फ नै खिच्दैछन्। तर पनि बहुसंख्यक क्याथोलिक धर्मावलम्बी रहेको आयरल्यान्डमा उनले दिएको सार्वजनिक अभिव्यक्तिलाई अभूतपूर्व मान्न मानिन्छ। आयरल्यान्डमा समलैंगिक सम्बन्धलाई ‘आपराधिक कार्य’ मानिन्थ्यो। सन् १९९३ मा उक्त कानुन संशोधन गरियो। सन् २०१५ मा आयरल्यान्डले समलिंगी विवाहलाई समेत कानुनी मान्यता दियो।

अब भारदकर प्रधानमन्त्रीमा निर्वाचित भए वर्तमान संसारमा सार्वजनिक रुपले आफूलाई समलिंगी भएको स्वीकार्ने दुई जना राष्ट्रप्रमुख हुनेछन्- भारदकर र लग्जम्बर्गका प्रधानमन्त्री जेभियर बेटेल। विगतमा दुई विश्व नेताले आफूलाई समलिंगी घोषणा गरेका थिए-  बेल्जियमका पूर्व प्रधानमन्त्री एलिओ डी रुपो र आइसल्यान्डका पूर्व प्रधानमन्त्री जोहोना सिगुरोआर्डोटिर।

भारदकरकी आइरिस आमा पेसाले नर्स हुन् भने बाबु अशोक भारतको मुम्बईबाट बेलायत आएका डाक्टर हुन्। विवाहपूर्व बेलायतको एक अस्पतालमा दुवै काम गर्थे। भारदकरका बाबु-आमा बेलायतमा रहँदा आप्रवासी भए पनि भारदकर आप्रवासका सम्बन्धमा ज्यादै उदारवादी मनिंदैनन्। उनले विगतमा आप्रवासका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले देशमा भएको बेरोजगार समस्या हल गर्न बेरोजगार आप्रवासीलाई उनीहरुकै देश फर्काउनुपर्ने मत राखेका थिए। यति हुँदाहुँदै उनलाई ३० हजार भारतीय मूलका आइरिसहरुको साथ छ।

भारदकरको समलिंगी पहिचानले चुनावमा कुनै असर नगर्ने युनिभर्सिटी कलेज कर्कमा अध्यापन गर्ने डा. थेरेसा रेडीको भनाइ छ। ‘आइरिस राजनीतिमा प्रथम महिला वा त्यस प्रकारको भूमिका हुँदैन। राजनीतिज्ञका व्यक्तिगत कुरालाई लिएर सार्वजनिक बहस पनि हुने गरेको छैन.’ रेडी भन्छिन, ‘राजनीतिज्ञका पारिवारिक कुरा सार्वजनिक रुपले गौण हुन्छ।’ भारदकर सञ्चारमाध्यममा सशक्त ढंगले प्रस्तुत हुन सक्ने नेता मानिन्छन्। उनी समयको चाहना र मुड बुझ्न सक्ने र त्यसलाई अभिव्यक्त गर्न उत्तिकै माहिर रहेको बताइन्छ।

spot_img

भर्खरै