spot_img

एक रुपैयाँ भ्रष्टाचार गर्दिन, कसैलाई गर्न पनि दिन्न ः कुश्मा नगर प्रमुख रामचन्द्र जोशी

पर्वत, जेठ ५–कुश्मा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामचन्द्र जोशीले आफुले एक रुपैयाँ भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने उद्घोष गरेका छन् । शुक्रबार नगर कार्यालयमा पदबहाली गर्दै जोशीले आफु नगरको विकास र समृद्धिको एकमात्र ध्येय बोकेर आएको भन्दै जनताको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
नगरबाट पाउने सेवासुविधा भन्दा आर्थिक लाभका लागि गलत मनसाय नराख्न पनि उनले आग्रह गरे । ‘मैले नगरको विकास र समृद्धिका लागि काम गर्ने एकमात्र ध्येय बोकेर आएको छु, एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ उनले भने–‘नगरभित्र काम गर्ने कसैले पनि आर्थिक लाभका लागि गलत मनसाय नगरीदिनुहोला ।’
यसैबिच नगर प्रमुख जोशीले पदबहालीसँगै तीन वटा निर्णय गरेका छन् । उनले सदरमुकामबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई तत्काल सम्बन्धित वडामा सञ्चालन गर्ने, एक घर एक धारालाई अभियान चलाउने र बजारक्षेत्रमा बाँकी रहेका ठाउँमा सौर्यबत्ती राख्ने निर्णय गरेका छन् ।
त्यसअघि कुश्मा नगरपालिकाका प्रमुख जोशी, उपप्रमुख सिता लामिछानेसहित १४ वडाका वडा अध्यक्ष र सदस्यहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराइएको थियो । प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई र वडा सदस्यलाई नगर प्रमुख जोशीले सपथ गराएका थिए ।
यसैबिच शुक्रबारै फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, पैंयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमति गुरुङसहित वडाअध्यक्षले पद तथा गोपनियताको सपथ लिएका छन् ।

spot_img

भर्खरै